पद, दल विशेष नहेरी अपराध अनुसन्धान गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पद या दल विशेष हेरेर अपराध अनुसन्धान प्रभावित नगर्न प्रहरीलाई निर्देशन दिएका छन् । ६४औं प्रहरी दिवसमा आज नेपाल प्रहरी मुख्यालय नक्शालमा सम्बोधन गर्दै प्रहरीले पद, अनुहार या दलको वास्ता नगरी अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

‘प्रहरीले अनुसन्धान गर्दा ओहदा, कुन पदमा छ, कुन दलको हो वास्ता गर्न हुन्न,’ ओलीले भने, ‘कसैको दबाब मान्नुपर्दैन, कानुनबमोजिम गर्नुपर्छ ।’ प्रहरीलाई दबाब दिने दुष्प्रयास नगर्न समेत चेतावनी दिए ।

महिलामाथि जर्बजस्ती गरेको अभियोगमा निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेपछि प्रहरी दिवसमा प्रधानमन्त्रीको उक्त भनाई आउनुलाई अर्थपूर्ण मानिएको छ । प्रहरीलाई निर्भय र कसैको दबाबमा नपरी कानुन बमोजिम कार्य गर्न निर्देशन दिए । प्रहरीको काम कर्तव्यको उच्च कदर गर्दै खुलेर प्रशंसा गरे ।

अपराधलाई राजनीतिकरण गर्न खोज्ने, राजनीतिक दलबल देखाउने र छाविनलाई प्रभावित पार्न खोज्ने प्रवृत्ति रहेको भन्दै त्यसबाट कत्ति पनि विचलित हुन नहुने बताए । उनले भने,’सत्य स्थापित हुन नसकेको भनेर प्रहरीलाई गाली गर्ने प्रवृत्ति छ ।’

देश तिव्र आर्थिक उन्नतिमा लागिरहँदा अनावश्यक गतिविधि गर्ने र हिंसाको बाटोमा लाग्नेहरु रहेको भन्दै त्यसको आलोचना गरे । उनले गलत मनशायका साथ, हिंसा त्रास मच्चाउनेहरुमाथि सून्य सहनशीलता अपनाउन निर्देशन दिए ।

गृहमन्त्रीको निर्देशन, ‘महिलामाथि हिंसा गर्नेलाई निस्तेज पार्नुस्’
कार्यक्रममै गृहमन्त्री रामबहादुर थापाले महिला तथा बाल-बालिकामाथि हुने हिंसाविरुद्ध शून्य-सहनशीलता अपनाउन प्रहरीलाई निर्देशन दिए । उनले यस्ता गतिविधिमा संलग्नलाई निस्तेज पार्न पनि निर्देशन दिए । जनताको भरोसा र विश्वास बोकेको सदस्यबाटै कानुन उल्लंघन हुनु क्षम्य नभएकाले बिनाहिचकिचाहट त्यस्ता व्यक्तिमाथि कारबाही गरिने प्रतिबद्धता उनले व्यक्त गरे ।

‘आर्थिक अनियमितता, महिला तथा बाल-बालिकाउपर हुने हिंसाविरुद्धको हरेक क्रियाकलापविरुद्ध शून्य-सहनशीलता अपनाइ आपराधिक तत्त्व निस्तेज पार्न डटेर लाग्न सम्पूर्ण प्रहरी कर्मचारीलाई निर्देशन गर्न चाहन्छु,’ गृहमन्त्री थापाले भने, ‘जनताको भरोसा र विश्वास बोकेको कानुन कार्यान्वयन गर्ने संगठनको सदस्यबाटै कानुन उल्लंघन भएको र आर्थिक अनियमितता गरेको कार्य कदापि क्षम्य हुँदैन । त्यस्तालाई कारवाही गर्न हुनै हिच्किचावट हुनेछैन ।’

कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सबैको साथ सहयोगबाट अपराध निर्मूल पार्न सधैं अग्रसर रहने प्रतिबद्धता जनाए । कार्यक्रममा पूर्वएआईजी यादव अधिकारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । यस वर्षको उत्कृष्ट कार्य सम्पादनतर्फको अवार्ड मोरङ प्रहरीमा कार्यरत एसपी मनोज केसीलाई प्रदान गरिएको थियो ।