चिनियाँ राष्ट्रपतिकाे स्वागतमा आइतबार सार्वजनिक बिदा

काठमाडाैं, २४ असाेज । नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिने भएको छ। गृह मन्त्रालयले सीको स्वागतका लागि आइतबार सार्वजनिक बिदा दिन बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद् बैठकले गृहको प्रस्ताव पारित गर्दै आइतबार सार्वजनिक छुट्टी दिने निर्णय गरेको जनाइएकाे छ।

सरकारले विभिन्न देशका राष्ट्रप्रमुख तथा प्रधानमन्त्री आउँदा सम्मानस्वरूप सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा पनि सरकारले सार्वजनिक बिदा दिएको थियो।

चिनियाँ राष्ट्रपति सी शनिबार राजकीय भ्रमणका लागि नेपाल आउँदैछन्। दुईदिने भ्रमणको दौरानमा विभिन्न सम्झौता हुने बताइएकाे छ।

शनिवार अपरान्ह भारतको चेन्नेइ हुँदै काठमाडौ आउने राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने भ्रमण तालिका तय भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार चिनिया राष्ट्रपतिलाई शनिवार अपरान्ह चार बजे त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले स्वागत गर्ने कार्यक्रम छ। सीलाई सोल्टी होटलमा राखिने छ।

चिनियाँ राष्ट्रपति सी र राष्ट्रपति भण्डारीबीच शनिबार नै भेटवार्ता हुनेछ। सी सोही दिन राष्ट्रपति भण्डारीले उनको सम्मानमा आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनेछन्। आइतबार प्रधानमन्त्री केपी ओली र चिनिया राष्ट्रपति सी को उपस्थितीमा उच्तस्तरीय बैठक हुनेछ।

सो क्रममा आधा दर्जनबढी सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ। केरुङ काठामडौं रेलमार्गका विस्तृत परियोजना प्रतिवेदन, नेपाल–चीन सुपर्दगी सन्धी, ७६२ मेगावाट क्षमताको तमोर जलविद्युत आयोजना, अद्योगिक पार्क लगायतका परियोजनामा दुई देशबीच छलफल जारी छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका नेतासँग भेट गरेर राष्ट्रपति सी आइतबार मध्यान्ह स्वदेश फर्कने कार्यक्रम छ।