मानेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले न्युक्यासललाई हरायो

एजेन्सी। साडियो मानेको उत्कृष्ट प्रदर्शनमा लिभरपुलले न्युक्यासललाई हराएको छ। शनिबार भएको खेलमा लिभरपुलले न्युकासल युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुलले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । लिभरपुललाई जित दिलाउन साडियो मानेले दुई गोल गरे भने मोहमद सलाहले एक गोल गरे । न्युकासलका जेट्रो विलिम्सले एक गोल गरे ।

एनफिल्डमा खेलको सातौं मिनेटमा जेट्रोले गोल गर्दै न्युकासललाई अग्रता दिलाएका थिए । तर, २८ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई खेलमा फर्काए । ४० औं मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुल २-१ ले अघि रह्यो ।

त्यसपछि खेलको ७२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-१ को जित दिलाए ।

जितसँगै लिभरपुलले शीर्ष स्थान कायम राखेको छ । लिभरपुलले ५ खेलबाट १५ अंक जोडेको छ । न्युकासलको पाँच खेलबाट ४ अंक रहेको छ ।