आज हिन्दु नारीहरुको महान चाड हरितालिका तीज

भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। 

हरितालिका तीजका दिन राजधानीको पशुपतिनाथलगायत विभिन्न शिवालयमा भक्तजनको घुइँचो लागेकाे छ। त्यस्ता ठाउँहरूमा महिलाहरू भेला भई सांगीतिक एवं नाचगानको कार्यक्रम गर्ने गर्छन्। तीजका दिन कोटेश्वरको कोटेश्वर महादेव, भक्तपुरको डोलेश्वर, साँगा महादेव, ललितपुरका तिलेश्वर, कालेश्वर र सन्तानेश्वर महादेवका मन्दिरका साथै सतीदेवीका अंग पतन भएका शक्तिपीठ र आराध्यदेव महादेवका मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ। दियो–कलश गणेश थापी माझमा थालीमा शिव पार्वती सम्झेर साँझ हरितालिकाको पूजा लगाउने चलन छ। तीजको व्रत भने भोलिपल्ट गौदान र पूर्णपात्रो गरेपछि मात्र पूर्ण हुने विश्वास गरिन्छ।

यसपालि हरितालिकाकै भोलिपल्ट सूर्योदय मात्र चौथी तिथि र त्यसलगत्तै पञ्चमी तिथि लाग्ने ज्योतिष पण्डित माधवप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार मंगलबार बिहान स्नान गरी गौदान पूर्णपात्रो गरेर उद्यापन गर्ने र त्यसपछि फेरि नुहाइधुवाइ गरी दतिवन लगाउनुपर्नेछ। त्यसपछि पञ्चमी पूजा लगाउनुपर्छ।

हरितालिकाको पर्सिपल्ट पञ्चमीका दिन अरुणधतीसहित सप्तऋषिको पूजा गरेपछि तीज सकिन्छ। पञ्चमीका दिन महिनावारीबाट हुने छुवाछुतबाट हुने दोषबाट मुक्त हुन यस दिन व्रतसहित सप्तऋषिको पूजा गर्ने गरिन्छ। यसदिन बिहानै महिलाहरूले ३६५ वटा दतिवन पनि लगाउने गर्छन्।
विगतमा हरितालिकाको एक दिनअघि मात्र दर खाने गरिए पनि पछिल्ला वर्षमा राजधानीलगायत मुख्य सहरमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ। भड्किलो खर्च गर्ने र गहनाको प्रर्दशन गरेर रत्यौली प्रवृत्तिका र हिन्दी गीत संगीतमा रमाउँनाले संस्कृतिमा विकृति फैलिएको संस्कृतिविद्को दुःखेसो छ।

समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यो व्रतको प्रयोजन रहेकोे धर्मशास्त्रीको मत छ। आत्मवादी र ईश्वरवादी दुवैले यो व्रत लिने गरेका छन्। समग्रमा परिवारको यस लोकमा सुख, शान्ति र पारलौकिक सद्गतिका लागि तीजको व्रतको महत्व छ।