भान डाइकले जिते युइएफ़ए बेस्ट प्लेयरको अवार्ड

एजेन्सी । लिभरपुलका डिफेन्डर भिर्गिल भान डायक ‘युईएफए प्लेयर अफ दि इयर’ घोषित भएका छन् ।

युरोपियन क्लब फुटबलमा गत सिजनका उत्कृष्ट खेलाडी घोषित हुँदै डायकले अवार्ड जितेका हुन् ।

युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफएले बिहिबार मोनाकोमा डायकलाई प्लेयर अफ दि इयर अवार्ड प्रदान गरेको छ ।

अवार्ड जित्ने क्रममा डायकले युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि बनाए ।

युईएफएको सदस्य, युरोपका प्रशिक्षक र ५५ खेल पत्रकारको मतको आधारमा युईएफएले डायकलाई अवार्ड दिएको हो ।डायकले ३०५ अंक पाएका छन् । यस्तै मेस्सीले २०७ र रोनाल्डोले ७४ अंक पाएका छन् ।

डच डिफेन्डर डायकले यस सिजन लिभरपुलबाट च्याम्पियन्स लिग जितेका थिए । उनले नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्राएका थिए ।

डायक ‘युईएफए प्लेयर अफ दि इयर’ अवार्ड पाउने पहिलो डच खेलाडी समेत बनेका छन् ।

यस्तै डायकले ‘डिफेन्डर अफ दि सिजन’ अवार्ड समेत जितेका छन् ।