यूटयूबले निर्माण गरेको भ्रामक संसार

-कुसुम भट्टराई-

चितवनमा रवी लामीछानेको समर्थनमा उत्रिएका केही महिलाहरुले ‘रवी हाम्रो भगवान हो’ भनेछन् । केही महिलाले ‘हामी रवीलाई राजाभन्दा बढी मान्छौं’ भनेको पनि सुनीयो । अनि कतिपय महिलाले ‘रवीका लागि ज्यान दिन्छौं’ भनेको पनि सुनीयो ।

यूटयूबमा यो दृश्य हेरेपछि म पनि भ्रममा परें । लाग्यो, अहो देशका सारा महिला रवीको पक्षमा ओइरीएछन् । रवी त नेल्सन मण्डेला नै हुने भए कि क्या हो ? खासमा त्यो मेरो भ्रम थियो, जुन युटयूबवालाहरुले मेरो दिमागमा सिर्जना गरिदिएका थिए ।

यूटयूबवालाहरुलाई यस्ता चिजहरु बढा हटकेक मसाला भइरहेको छ । यूटयूबमा भाइरल आइटम हालेर दाम कमाउन पल्कीएकाहरु खोजी खोजी त्यस्ता चर्का, उत्तेजक, कतिपय सन्दर्भमा आपत्तिजनक र वाहीयात भनाइहरुलाई स्थान दिइरहेका छन् ।

म हिजो ठमेलमा भाइको घरमा बसीरहेको थिएँ र राती अबेरसम्म यूटयूबमा त्यस्ता भाइरल आइटमहरु हेरीरहेको थिएँ । ति च्यानलका सामाग्री हेर्दा आज भोली नै यो देशमा २०६२ सालको भन्दा ठूलो बृहत आन्दोलन सुरु भइसकेको र जनता सडकमा उत्रिसकेको मानसिकता ममा बिकास गराइदियो । आज भोली नै यो देशमा ठूलै उथल पुथल हुने त हैन भन्ने भाव पनि ममा जगाइदियो ।

विहानपख जब म ठमेल बजार, क्षेत्रपाटी हुँदै रत्नपार्क र बागबजारतिर निस्किएँ, हरेक मानिस दैनन्दीनका आफ्नै कर्ममा व्यस्त थिए । कोही मकै पोलेर बेचीरहेका थिए । कोही टोकरीमा फलफूल राखेर बेचीरहेका थिए । कोही फुटफाथमा रायोको साग फिजाएर ग्राहक कुरीरहेका थिए । कोही अफीस जाने हतारोमा थिए । कोही कुनै माल कतै लैजाने चटारोमा थिए । हरेक मानिस आफ्ना नैसर्गिक समस्याहरुसँग जुझीरहेका थिए र तिनलाई रवी लामीछाने र उनका समर्थकहरुको विरोधसँग कुनै लेनादेना थिएन ।

सिंगो देशका बहुसंख्यक जनता क्षणीक रुपमा चर्चामा आएर सेलाउने यस्ता इश्यूहरुप्रति निष्पृह थिए । लाग्यो, यूटयूबका ति सामाग्रीको आफ्नै संसार रहेछ । भर्चुअल संसारको आफ्नै साँघुरो क्षितिज रहेछ । तर, मानिसका बस्तीहरुको रियल संसारलाई त्यसले खासै फरक पारेको रहेनछ । यूटयूबमा भाइरल हुनेहरु यूटयूबमै सिमित रहेछन् । आम जनताले तिनलाई खासै चिन्दारहेनछन् ।

म पनि केही दिन यूटयूबमा छाएको थिएँ । अब बल्ल बुझ्दैछु, यो भर्चुअल संसार एउटा भ्रम मात्र रहेछ । यूटयूबमा छाउने र हेर्ने दुबै यसका अम्मली मात्र रहेछन् । यो एउटा एडीक्सन रहेछ, जसले केही युवाहरुलाई गाँजेको छ । इन्टरनेटको पहुँच भएका, हातमा इन्टरनेट चल्ने मोबाइल हुनेहरु र डाटा किनेर फेसबुक या यूटयूब चलाउने हैसियत भएकाहरु हर घडी ‘घोप्टे युग’मा व्यस्त भएका होलान्, तर लाखौं जनताको जीवन चाहिँ बाँच्नका लागि गरिने संघर्षमै अल्झीएको छ, जसलाई मंहगी, बेरोजगारीलगायत चौतर्फी समस्याले गाँजेको छ ।

भर्चुअल वल्र्ड पनि एउटा नशा हो, जसले मानिसको विवेक खोसीदिन्छ । त्यसैको प्रभाव हो, चितवनको कोकोहोलो, जसलाई यूटयूब च्यानलहरुले तिललाई पहाड बनाएर पस्कीरहेका छन् । हो, भिडमा उर्लिएका मानिसहरु मोटाघाटा, खाइलाग्दा, फुर्सदीला, गोजीमा गाँठ भएकाजस्ता, प्रशस्त जग्गा भएका र टन्न खाएको पचाउन आएकाजस्ता देखिन्छन् । हो, रमीतेहरुको पनि कमी छैन, त्यहाँ । यूटयूबमा माफीया पसिसकेको छ, जसले यो देशमा नयाँ नयाँ फण्डा सिर्जना गरिरहेको छ ।

(याे सामाग्री कुसुम भट्टराईकाे फेसबुकबाट लिएका हाैं ।)