नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं , ३ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ ।

मंगलबार दिउँसो तीन बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको हो।  लामो रस्साकस्सीपछि विभागहरूको जिम्मेवारी टुंग्याएको नेकपाले केन्द्रीय आयोगहरू गठन गर्न बाँकी छ । नेकपाले जनवर्गीय संगठनहरूको पनि जिम्मेवारी टुंग्याएको छ । नेकपा विधानमा ६ वटा आयोग रहने व्यवस्था छ ।

नेकपामा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चमा जिम्मेवारी तोक्न बाँकी छ ।

बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।