विश्वकप क्रिकेट २०१९ को उपाधि इंग्ल्याण्डलाई

एजेन्सी । आयोजक टिम इंग्ल्याण्डले १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि हात पारेको छ ।

आइतबार लण्डनको लर्ड्स क्रिकेट मैदानमा भएको रोमान्चक फाइनलमा न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जितेको हो ।

योसँगै इंग्ल्याण्डले पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । र, एकदिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र बनेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो । न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पनि खेलले नाटकीय रुप लियो । इंग्ल्याण्डले १५ रन जोड्दै न्युजिल्याण्डलाई १६ रनको लक्ष्य दिएको थियो । जवाफमा न्युजिल्याण्डले १५ रन नै बनायो । तर, सुपर ओभरमा समान स्कोर भएपनि बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि जितेको हो ।