स्वस्तिमाले जितिन सार्क फिल्म फेस्टिबलमा ‘जुरी अवार्ड’

श्रीलंकामा आयोजित ‘सार्क फिल्म फेस्टिभल-२०१९’ मा गत वर्ष प्रदर्शनमा आएको विनोद पौडेल निर्देशित डेब्यू फिल्म ‘बुलबुल’ ले अवार्ड हात पारेको छ । यो फिल्ममा जीवन्त अभिनय पस्किएकी अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्म फेस्टिभलमा ‘वेष्ट पफर्मर जुरी अवार्ड-२०१९’ जितेकी हुन् । स्वस्तिमाको करिअरमा यो पहिलो फिल्मी अवार्ड हो ।

अवार्ड जितेपछि उनले आफू निकै खुसी भएको प्रतिक्रिया दिएकी छन् । जुलाई २ देखि ७ सम्म भएको उक्त फिल्म फेस्टिभलमा सहभागी हुन उनी गएको हप्ता श्रीलंका पुगेकी थिइन् ।

‘बुलबुल’ सँगै यस फेस्टिभलमा ‘प्रसाद’ र ‘हरि’ ले पनि नेपालबाट प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए । अवार्ड जितेपछि संक्षिप्त प्रतिक्रिया दिँदै स्वस्तिमाले भनिन्, ‘पहिलो अवार्ड नै अन्तर्राष्ट्रिय पाएँ । एकदमै खुसी छु । यो अवार्डले अझै उत्साहित भएर काम गर्न प्रेरणा मिलेको छ ।’

यसअघि ‘सार्क फिल्म फेस्टिभल-२०१४’ मा फिल्म ‘झोला’ बाट अभिनेत्री गरिमा पन्तले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी थिइन् ।