प्रधानमन्त्रीलाई नेविसंघले पठायो विषाक्त तरकारी र फलफुल उपहार

काठमाण्डौ। भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषाक्त जाँच नगरी आयात गर्ने निर्णयको विरोध गर्दै आज नेवि संघले प्रधानमन्त्रीलाई विषाक्त तरकारी तथा फलफूल उपहार पठाएर विरोध जनाएको छ।

विषाक्त जाँच नगरी आयात गरेर जनस्वास्थ्यमाथि खेलबाड गर्न खोजेको भन्दै नेविसंघले मंगलबार पनि प्रदर्शन गरेको हो।

हातमा तरकारी लिएर प्रदर्शनमा उत्रिएका नेविसंघका नेता–कार्यकर्ताले जनतालाई विष मिसिएको तरकारी खुवाउन पाइँदैन भन्दै सरकारविरुद्ध नाराबाजी गरेका थिए।

प्रदर्शनका क्रममा नेविसंघले भारतसित घुँडा टेक्ने केपी ओली नेतृत्वको सरकार नसच्चिए कडा संघर्ष गर्ने चेतावनी दिएको छ। उनीहरुले भारतबाट आयात हुने सम्पुर्ण फलफुल तथा तरकारीहरु विषादीको परीक्षण गरेर मात्रै भित्र्याउनु पर्ने माग गरेका छन्।

विरोध कार्यक्रम अनुसार असार २५ गते विषाक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते मसाल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन हुनेछ ।