‘आप्पा’ र ‘कीर्तिपुर’ शुक्रबारदेखि एक साथ प्रदर्शनमा

काठमाण्डौं। यो हप्ता हलमा दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । अनमोल गुरुङको डेब्यु निर्देशनमा बनेको चलचित्र ‘आप्पा’ र प्रदीप खड्गीले निर्देशन गरेको चलचित्र ‘कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ एक साथ प्रदर्शनमा आएका हुन् ।

बुबा-छोराको सम्बन्धको कथा बोकेको ‘आप्पा’बाट चलचित्रका मुख्य कलाकार कालिम्पोङका निवासी सिद्धान्त राज तामाङ र अल्लोना काबो लेप्चाले डेब्यु गरेका छन् । ‘आप्पा’मा दयाहाङले सिद्धान्तका बाबुको भूमिका निभाएका छन् । चलचित्रमा दयाहाङ, सिद्धान्त, अल्लोनासँगै तुलसी घिमिरे र अरुणा कार्कीको पनि अभिनय रहेको छ ।

यसै गरी अठारौँ शताब्दीको पूर्वार्धमा गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको दौरान कीर्तिपुरमा गरेको आक्रमणको ऐतिहासिक विषयवस्तुमा निर्माण भएको ‘कीर्तिपुर द लिजेन्ट अफ कीर्तिलक्ष्मी’ पाँच वर्षअघि नै निर्माण भएको थियो । विभिन्न प्राविधिक र राजनैतिक उल्झनका कारण समयमा नै प्रदर्शन हुन नपाएको चलचित्रमा हिसिला महर्जन, यशराज गराच, मदनदास श्रेष्ठ, सुशील राजोपाध्याय, लक्ष्मी गिरी, सुरवीर पण्डित लगायत कलाकारहरूको अभिनय रहेको छ ।