गुठी सम्बन्धी विधेयक कुनै पनि हालतमा पास हुदैन :सभापति देउवा

हेटौंडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याउन लागेको गुठी सम्बन्धी विधेयक कुनै पनि हालतमा पास हुन नदिने बताएका छन् ।

हेटौंडामा नेपाल साँस्कृतिक संघको प्रशिक्षण भेलामा बोल्दै देउवाले कांग्रेस जनताको पक्षमा लाग्ने पार्टी भएकाले नेपालको सांस्कृतिक सभ्यतासँग जोडिएको गुठीका पक्षमा काम गर्ने बताए । सो सम्बन्त्री विधेयक संसदबाट पास हुन नदिने उनले प्रतिबद्धता जनाए ।

सरकार दुईतिहाइको दम्भमा अघि बढिरहेको भन्दै उनले हरेक कुरामा बन्देज लगाउन खोजे पनि कांग्रेस कुनै पनि हालतमा चुप लागेर नबस्ने चेतावनी दिए । लोकतन्त्रमा सरकारले प्रेसमाथि आक्रमण गरेको भन्दै सभापति देउवाले स्वतन्त्र संस्थालाई अंकुश लगाउन सरकारले ल्याएको विधेयक कांग्रेसलाई मान्य नहुने बताए ।

मुलुकमा देखिएका असमानता, दण्डहीनता, भ्रष्टाचारले नेपाललाई पछि धकेल्दै लगेको भन्दै उनले अहिले हत्या, हिंसा, बलात्कारका घटनाले प्रश्रय पाइरहेको बताए । सरकारले कानुनी राज्यको महसुस जनतालाई दिन नसकेको र मानवअधिकार आयोगको अधिकार खोसेर तानाशाह र निरंकुशताको संकेत दिएको उनको आरोप छ ।