रोनाल्डोको ह्याट्रिकसँगै पोर्चुगल फाइनलमा

एजेन्सी, २३ जेठ । युरोपियन नेशन्स लिग फुटबलको पोर्चुगल फाइनलमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्डलाई ३–१ गोल अन्तरले हराउँदै पोर्चुगल फाइनलमा पुगेको हो ।

पोर्चुगलको जितमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरे । खेलको २५ औं मिनेटमा फ्रिकिकमा गोल गर्दै रोनाल्डोले टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । ५७ औ मिनेटमा पेनाल्टीमा रिकार्डो रोड्रिग्वेजले स्विस टोलीका लागि गोल गरे । खेलको अन्तिम तीन मिनेटमा दुई गोल गर्दै रोनाल्डोले ह्याट्रिक पूरा गरे ।

पोर्चुगलले उपाधिका लागि बिहीबार हुने इङ्ल्याण्ड र नेदरल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल आइतबार पोर्टोमा हुनेछ ।