देशको एक हजार भन्दा बढी स्थानमा NCELL को 4G सेवा

मुक्तिनाथ संवाददाता-

काठमाण्डौ। निजी क्षेत्रको दुरसञ्चार सेवाप्रदायक कम्पनि एनसेल प्रा.लि ले नेटवर्क विस्तार गर्ने क्रममा देशका एक हजार भन्दा बढी स्थानहरुमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।

एनसेलले आइतबार आफ्नो फोरजी सेवा देशका सातै प्रदेशका एक हजार भन्दा बढी स्थानका नेपाली जनताहरुको पहुँचमा पुगेको घोषणा गरेको हो । अब प्राय सबै शहरहरु र शहरीक्षेत्र भन्दा बाहिर रहेका ग्राहकहरुले पनि द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवामा पहुँच र यसले दिने नयाँ अवसरहरुबाट फाईदा लिन सक्नेछन् ।

सेवा विस्तारसँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल सेट प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले द्रुतगतिको मोबाइल ब्रोडव्याण्ड सेवाको लाभ लिन सक्नेछन् ।

फोरजी/एलटिई प्रविधि अन्तर्गत फ्रिक्वेन्सी प्रभावकारीतामा सुधार भई उच्च गतिको इन्टरनेट सेवा उपलब्ध हुने भएकाले ग्राहकले आफ्नो मोबाइलमा अझ धेरै र राम्रा एप्लिकेसनहरु प्रयोग गर्न, तत्काल महत्पपूर्ण ठूला फाइलहरु आदान-प्रदान गर्न, उच्च गुणस्तरका भिडियो सामाग्रीहरु सजिलै हेर्न लगायतका कामहरु गर्न सक्नेछन् ।

दुई वर्ष अगाडी जेष्ठ १८, २०७४ बाट एनसेलले आफ्नो फोरजी सेवा काठमाडौं उपत्यका लगायतका स्थानहरुबाट सेवा शुरु गरेको थियो । अब यो सेवा बिराटनगर, इटहरी, जनकपुर, भरतपुर, भैरहवा, बुटवल, बागलुङ्ग, नेपालगञ्ज, तुल्सीपुर, तम्घास, पाल्पा, कृष्णनगर, बर्दिबास, राजविराज, मलङ्गवा र घनकुटा लगायत अन्य धेरै शहरहरु सहित एक हजार भन्दा बढी स्थानहरुमा उपलब्ध छ ।

आफ्नो सिम कार्डलाई अझै फोरजीमा परिवर्तन नगरेका ग्राहकले नजिकैको एनसेल सेन्टरबाट १ रुपैँया शुल्क तिरेर फोरजी चल्ने सिम लिन सक्छन् । यसरी सिम परिवर्तन गर्दा ग्राहकको मोबाइल नम्बर भने उहि रहने छ ।