प्रधानमन्त्री ओली एक हप्ता युरोप भ्रमणमा जाँदै

काठमाण्डौ। प्रधानमन्त्री केपी ओली एक साताको युरोप भ्रमणका लागि जाने भएका छन् ।

जेठ २५ मा स्विट्जरल्यान्ड, बेलायत र फ्रान्स भ्रमण सकेर प्रधानमन्त्री ओली असार १ गते स्वदेश फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज (आइतबार) पत्रकार सम्मेलन गरी जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार एक साताको भ्रमणका क्रममा स्विट्जरल्यान्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभामा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।

‘जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन, नेपाली समुदायसँग भेटघाटको कार्यक्रम छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘जेठ २९ मा फ्रान्स जाने र त्यहाँ उच्चस्तरीय भेटघाटको कार्यक्रम छ ।’