कास्कीको वीरेठाँटीदेखि मुक्तिनाथसम्म केबुलकार बन्ने

काठमाडौँ, जेठ १९। धार्मिक एवं पर्यटकीय स्थल मुक्तिनाथ धामसम्म केवलकार निर्माण हुने भएको छ । कास्कीको वीरेठाँटीदेखि मुस्ताङको मुक्तिनाथसम्म निर्माण गरिने प्रस्तावित सो यात्रुबाहक केवलकारको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) निर्माण कार्य सुरु भएको छ । आजको गोरखापत्रमा खबर छ।

कुल ८३.६५ किलोमिटर लम्बाईको विश्वकै लामो यात्रुवाहक केवलकार हुने दाबी गरिएको छ । प्रस्ताावित केवलकार निर्माणका लागि डीपीआर निर्माण कार्य सुरु भइसकेको जानकारी मुक्तिनाथ दर्शन केवलकार प्रालिका इन्जिनियर बिकास त्वनाबासुले दिनुभयो ।

अबको तीन महिनाभित्र डीपीआर निर्माण कार्य सम्पन्न हुनुका साथै निर्माण कार्य सम्पन्न भएको छ महिनाभित्र सरकारसँग परियोजना विकास सम्झौता (पीडीए) हुनेछ । छ महिनाभित्र सो केवलकार निर्माणका लागि वित्तीय व्यवस्थापन गरी निर्माण कार्य सुरु गरिने तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गरिने लक्ष्य रहेको छ ।

लगानी बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले नेपाललाई पर्यटकीय गन्तव्यका रूपमा थप विकसित तुल्याउन मद्दत पुग्ने सो केवलकार निर्माण कार्य समयमा नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

सो केवलकार निर्माणका लागि यसअघि नै फिजिविलिटी, जियोमेट्रिक लगायतको अध्ययन कार्य सम्पन्न भइसकेको छ । यसअघि भएका अध्ययनले सो केवलकार निर्माणको कुल लागत करिब ५० अर्ब रुपियाँ हुने देखाएको छ । सो केवलकारको वातावरणीय प्रभाव मूल्याङ्कन कार्य समेत अहिले भइरहेको निर्मााण कम्पनीले जनाएको छ ।

कास्कीको वीरेठाँडीदेखि मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म केवलकार लाइन विकास तथा सञ्चालनका लागि २०७५ भदौ २७ गते लगानी बोर्डको कार्यालय र मुक्तिनाथ दर्शन केवलकार प्रालिबीच सम्झदारीपत्रमा हस्ताक्षर भइसकेको छ । यो खबर आजको गोरखापत्रबाट साभार गरिएको हो।