४८ महिनापछि तातोपानी नाका सञ्चालनमा

सिन्धुपाल्चोक। नेपाल–तिब्बत जोड्ने तातोपानी नाका आजदेखि खुलेको छ । २०७२ सालको विनाशकारी भूकम्प पछी बन्द रहेको नाका आजदेखि पुनः सञ्चालनमा आएको हो ।

आज बिहान ४ वटा कन्टेनर ऊन ल्याउन खासा पठाएपछि नाका खुलेको हो । ती कन्टेनर भोलि बुधबार काठमाडौं आइपुग्ने जनाइएको छ ।

सोमबार बेलुका नै ती कन्टेनरको पास प्रक्रिया पूरा गरी तयारी हालतमा राखिएको थियो भने आज बिहानै चिनिया पक्षको अनुमतिमा खासाका लागि प्रवेश पाएका हुन् ।

गोरखा भूकम्पले नेपाल चीन जोड्ने मितेरी पुल भत्किएपछि तातोपानी नाका बन्द भएको थियो । अहिले पनि मितेरीपुलको निर्माण भैरहेको छ । पुल निर्माण सम्पन्न नहुँदा तत्कालका लागि अस्थायी रुपमा चल्तीमा ल्याइएको पुलमुनिको कच्ची सडकको पुल हुँदै ती कन्टेनर खासा पठाइएको छ ।