आठौं वृहत राष्ट्रिय खेलकुद सम्पन्न, १४० स्वर्णसहित आर्मी च्याम्पियन

बाँके,११ बैशाख । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा समापन भएको छ । बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा एक समारोहकाबीच कार्यबहाक राष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता समापन गरेका हुन्।

समारोहमा मन्तव्य राख्दै कार्यबहाक राष्ट्रपति पुनले नवौं राष्ट्रिय खेलकुदको तयारीमा आजैबाट लाग्न सुझाएका थिए । उनले पुर्वाधारको निर्माण पुरा नहुँदै हुने राष्ट्रिय खेलकुद बारे आफु जानकार रहेको भन्दै पुर्वाधारको विकास बिना खेलाकुद अघि बढ्न नसक्ने बताए ।

२०७५ साल चैत २७ गते शुरु भएको प्रतियोगितामा १४० स्वर्ण, ८२ रजत र ६७ कांस्य पदकसहित कुल २८९ पदक जितेर नेपाल आर्मी च्याम्पियन भएको छ। त्यस्तै ६२ स्वर्ण, ४७ रजत र ४६ कांस्यसहित कुल १५५ पदक जितेर नेपाल पुलिस क्लब दोश्रो तथा ५३ स्वर्ण, ६९ रजत र ८० कांस्यसहित कुल २०१ पदक पदक जितेर सशत्र प्रहरीको एपीएफ क्लब तेश्रो स्थान हासिल गर्न सफल भएका छन।

प्रदेश १ ले ९ स्वर्ण, २० रजत र ५९ कांस्य सहित ८८ पदक, प्रदेश २ ले ६ स्वर्ण,७ रजत र २० कांस्यसहित ३३ पदक, प्रदेश ३ ले २२ स्वर्ण, ४० रजत र ६० कांस्य पदक गरी १२२ पदक, गण्डकीले १२ स्वर्ण, २१ रजत र ४४ कांस्यसहित ७७ पदक, प्रदेश ५ ले ११ स्वर्ण, २६ रजत र ४८ कांस्यसहित ८५ पदक, सुदुरपश्चिम प्रदेशले ८ स्वर्ण, १२ रजत र ३४ कांस्यसहित ५४ पदक तथा कर्णाली प्रदेशले ३ स्वर्ण, ४ रजत र १७ कांस्यसहित २४ पदक जितेको थियो। त्यस्तै गरी एनआरएनएले ६ स्वर्ण, २ रजत र ५ कांस्यसहित १३ पदक जितेको छ।

समापन समारोहमा राखेपका सदस्य सचिव केशवकुमार विष्टले गण्डकी प्रदेशका खेलकुद विकास समिति अध्यक्ष सम्पन्न श्रेष्ठलाई नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको झण्डा हस्तान्तरण गरेका थिए ।

अब नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७७ साल फागुन २० देखि २७ सम्म गण्डकी प्रदेशको पोखरामा हुने भएको छ।