राष्ट्रपति विद्यादेवी भण्डारी राजकीय भ्रमणका लागि चीनतर्फ प्रस्थान

काठमाडौं, ११ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारी आज चीन जादै हुनुहुन्छ । राष्ट्रपति भण्डारी आजदेखि चीनको ९ दिने राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। राष्ट्रपति भण्डारी आज ११ बजे नेपाल बायुसेवा निगमको बिमानमार्फत चीनको सियान प्रस्थान गर्नुहुनेछ । सियानबाट उहाँ बेइजिङ जानुहुनेछ ।

आजदेखि सुरु हुने चीनको राजकीय भ्रमणका क्रममा नेपालले रेलदेखि सुरुङमार्गसम्मका परियोजनामा चिनियाँ अनुदान ल्याउने प्रयास गर्ने भएको छ  ।

नेपालले बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सम्बन्धी परियोजनाका ९ वटा सूची तयार पारेको छ  । जसमा ल्हासादेखि काठमाडौंसम्मका अन्तरदेशीय विद्युत् प्रसारण लाइन बनाउने र नौबिसेदेखि काठमाडौंसम्म सुरुङ खन्ने प्रस्तावलगायत छन्  ।

नेपालका तर्फबाट सुरुमा ३५ परियोजना पेस भएकामा प्राथमिकताका आधारमा १० भन्दा कममा झार्न चीनले सुझाव दिएपछि नेपालले ९ वटा सूची तयार गरेको हो । हुम्ला जोडिने हिल्सा नाका र मुस्ताङसँग जोडिएको केरला नाका खोल्न, गल्छीदेखि केरुङसम्मको बाटो स्तरोन्नति गर्ने प्रस्ताव पनि नेपालको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षी सी चिनफिङबीच द्विपक्षीय वार्ता हुनेछ ।

त्यसपछि दुवै देशबीच व्यापार तथा पारवहन सन्धिको प्रोटोकलमा हस्ताक्षर हुनेछ । नेपालका राष्ट्रपतिलाई पहिलोपटक कार्यकारी भ्रमणको निम्तो दिएको चीनले भण्डारी नेतृत्वको टोलीलाई बेइजिङमा उच्च सम्मान दिँदै छ । राष्ट्रपतिले नेतृत्व गर्ने ५० सदस्यीय टोलीमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा पनि चीन जाँदैहुनुहुन्छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सांसदहरू, उच्च सरकारी अधिकारीहरूलगायत सहभागी हुनेछन।