जहाज र हेलिकप्टर ठोक्किँदा तीनको मृत्यु

सोलुखुम्बु, १ वैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । जहाज र हेलिकप्टर एक–आपसमा ठोक्किएका छन् । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

आज बिहान समीट एयरको जहाज मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार, ‘टेकअफ’ गर्न लागेको समिटको जहाज ल्यान्ड गरिराखेको मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जहाजका को-पाइलट र सुरक्षाकर्मीको मृत्यु भएको छ । धावनमार्गमा रहेका प्रहरीको मृत्यु भएको जनाएको छ।

को-पाइलट सुदीप ढुंगाना र प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । प्रहरी सहायक निरीक्षक खड्का विमानस्थल सुरक्षार्थ खटिएका थिए।

प्रहरीका अनुसार, समिट एयरका कोपाइलट ढुंगाना र प्रहरी सहायक निरीक्षक खड्को घटनास्थलमै मृत्यु भएको हो।

त्यस्तै, विमानस्थलमै कार्यरत प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको छ । घाइते श्रेष्ठलाई उपचारका लागि काठमाडौं ल्याइएको थियो। दुर्घटनामा जहाजका पाइलट रवीन्द्र रोकाया र एयर होस्टेज घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याइएको छ।