सिंगापुरमाथि नेपालको फराकिलो जित

काठमाडौं । आईसीसी यू-१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि मलेसियामा जारी एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

शुक्रबार भएको पहिलो खेलमा सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

क्वालाम्पुरमा नेपालले दिएको २८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सिंगापुर ३१ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटियो ।

नेपालका लागि पवन सरार्फले ३ विकेट लिए भने कुशल मल्ल र सुर्य तामांङले समान २/२ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २८२ रन बनाएको थियो । सिंगापुरविरुद्ध बनाएको उक्त स्कोर यू-१९ क्रिकेटमा नेपालले बनाएको हालसम्मकै सर्वाधिक ठुलो स्कोर हो ।

खराब सुरुवात गरेको नेपालले मात्र १८ रन जोड्दा २ विकेट गुमाएको थियो । तर, कप्तान रोहित कुमार पौडेल र पवन सरार्फले ९० रनको साझेदारी गर्दै नेपाललाई उकासेका थिए ।

कप्तान रोहितले ९५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहित शतक बनाउन ५ रनले चुके । पवन ४७ रनमा आउट भए ।

यस्तै नेपालका लागि राशिद खानले ४८, कमल सिंह ऐरीले ३१ तथा भिम सार्कीले २६ रन बनाए । सिंगापुरका लागि आथर्भा गुनेले ४ विकेट हात पारे । यस्तै राहुल शर्मा र बिनित मेहेताले समान २-२ विकेट लिए ।