कतारलाई पानी बेच्ने तयारीमा नेपाल, दुई देश बिच छलफल हुदै

चैत १९, काठमाडौँ । खानेपानीमन्त्री विना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन अल हेलबीच खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको छ ।

मंगलबार खानेपानी मन्त्रालयमा खानेपानीमन्त्री र नेपालका लागि कतारका राजदूतबीच खानेपानी निर्यात गर्ने विषयमा छलफल भएको हो ।भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर्यात गर्ने विषयमा मन्त्रालयले गृहकार्य गरिरहेको बताउनुभयो । उहाँले नेपालको पानी त्यसै खेर गैरहेकाले विदेश निर्यात गर्ने विषयमा छलफल चलिरहेको जानकारी गराउनुभयो ।

स्प्रिङ वाटर निर्यात गर्ने विषयमा दुवै देशका प्रतिनिधिहरुबीच थप छलफल गरेर अघि बढ्ने उहाँले बताउनुभयो । सो भेटघाटमा मन्त्री मगरले नेपाल र कतार सरकारबीच समझदारी गर्ने विषयमा प्रक्रिया अघि बढाउन खानेपानी विभागका महानिर्देशकलाई निर्देशन दिनुभयो । सोही भेटघाटमा सहभागी हुनुभएका विभागका महानिर्देशक सुनिलकुमार दासले स्प्रिङ वाटर निर्यात गर्ने विषयमा विभागले अब छिटै विस्तृत अध्ययन अगाडि बढाउने र दुवै देशबीच सम्झौताको मस्यौदा तयार पार्ने बताउनुभयो ।