हुवावेले अब अत्याधुनिक प्रविधियुक्त स्मार्ट टेलिभिजन ल्याउने

एजेन्सी। स्मार्ट फोनको दुनियाँमा विश्व बजारमा हालिमुहालि गर्न सफल चिनिया कम्पनी हुवावेले अब टेलिभिजन बजारमा पनि पाइला चाल्ने भएको छ ।

समाचार अनुसार हुवावेले आगामी अप्रिलमा स्मार्ट टिभी लञ्च गर्ने तयारी गरेको छ । उक्त स्मार्ट टेलिभिजनमा डुअल क्यामरा सेटअप, सोसल तथा गेमिंग फिचर समेत रहनेछ ।

कम्पनीका अधिकारीका अनुसार एक वर्षमा १ करोड गोटा बिक्रि गर्ने लक्ष्यका साथ हुवावेले टेलिभिजन ल्याउन लागेको हो ।

५५ इन्च र ६५ इन्च गरी दुईवटा मोडेलमा हुवावेले स्मार्ट टिभी ल्याउनेछ । ५५ इन्चको टिभीको आपूर्ति बेइजिंग ओरियन्टल इन्टरप्राइजेज र ६५ इन्चको टिभीको आपूर्ति शेनझेन चीन स्टार अप्टोइलेक्ट्रोनिक्स टेक्नोलोजी लिमिटेडले गर्ने बताइएको छ ।

सबैभन्दा महत्वपूर्ण कुुरा त के भने कम्पनीको ६५ इन्चको स्मार्ट टिभीले फाइभ जी नेटवर्क पनि सपोर्ट गर्नेछ ।