सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य

-सविता शर्मा

चैत ११, काठमाडौँ । सङ्घीय संसद्को तेस्रो अधिवेशन अन्त्य भएको छ । गत पुस ११ गते शुरु भएको योे अधिवेशन आइतबार रातिदेखि अन्त्य भएको हो । विधेयक अधिवेशनको रूपमा लिइएको अधिवेशनको अवधि ८९ दिन रह्यो । यस अवधिमा प्रतिनिधि सभामा ३२ दिनमा ४६ पटक बैठक बसेको छ । बैठकको कूल समय ६१ घण्टा पाँच मिनेट ससंदीय कारवाहीमा खर्च भएको छ । यसैगरी राष्ट्रिय सभामा २७ दिनमा ३५ वटा बैठक बसेको थियो भने करिव ३३ घण्टा संसदीय कारवाही भएको छ ।

यस अधिवेशनमा प्रतिनिधि सभामा २३ वटा सरकारी विधेयक दर्ता भएकोमा आठ वटा सभामा प्रस्तुत हुन बाँकी छन् भने सातवटा विधेयक सम्बन्धित् समितिमा विचाराधीन छन् । सङ्घीय संसदको दुवै सदनबाट छ वटा विधेयक पारित भएका छन् । दोस्रो अधिवेशनबाट प्राप्त चारवटा विधेयक र राष्ट्रियसभामा उत्पति भई प्रतिनिधि सभाको दोस्रो र यस अधिवेशनमा प्राप्त चार विधेयक पारित भएका छन् ।
प्रशासकीय अदालत विधेयक, २०७५, समितिमा विचाराधीन छ र ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, २०७५ र विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५, सम्बन्धी राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित प्रतिनिधि सभामा टेबुल भएको छ ।

हिउँदे अधिवेशनमा प्रतिनिधि सभामा उत्पत्ति भएर भुक्तानी तथा फछ्र्यौट, कर्मचारी समायोजन, निवृत्तभरण कोष, नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित भएको छ । त्यसैगरी सार्वजनिक–निजी साझेदारी तथा लगानी, लेखा परीक्षण र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पनि पारित भएको छ । त्यस्तै, जीवनाशक विषादी व्यवस्थापन, विशेष आर्थिक क्षेत्र (पहिलो संशोधन) विधेयकका साथै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पनि पारित भएको छ । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण र भूउपयोग विधेयक पनि यही अधिवेशनले पारित गरेको छ ।

यस अवधिमा राष्ट्रिय सभामा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयक, संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्र्रािष्ट्रय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, प्रदेश लोक सेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक पारित भए । त्यसैगरी जेष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयक, विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उत्पत्ति पारित भए ।

यस अधिवेशन अवधिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्रप्रसाद अधिकारी, पूर्व सांसदहरू चक्रप्रसाद बाँस्तोला, पद्मरत्न तुलाधर, मोतिदेवी थारु, कमलादेवी शर्मा, भरतमोहन अधिकारी, गणेश पण्डित र जीतबहादुर पुरीको निधन भएकोमा शोक प्रस्ताव पारित गरिएको छ । प्रतिनिधि सभामा यस अधिवेशनमा तीन वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव कारवाही भएको थियो । पहिलो सडक दुर्घटना बढिरहेकाले यसलाई कम गर्न सडक सुरक्षाको व्यवस्थापन र राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०१३–२० को कार्यान्वयन रहेको थियो भने अर्को स्वास्थ्य बीमा ऐन अन्तर्गतका कार्यक्रमलाई देशव्यापी रुपमा लागू गर्दै सातवटै प्रदेशमा पूर्ण क्षमताका अस्पतालको प्रबन्ध गरी नागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि कानून, नियम र निर्देशिका बनाई लागू गर्ने विषयमा पनि सार्वजनिक महत्वको दर्ता भई छलफल भएको थियो ।

त्यसैगरी नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा प्रचलित छाउपडी प्रथाको अन्त्यका लागि संघीय तहदेखि स्थानीय तहसम्म विशेष अभियान सञ्चालन गरी कानुन कार्यान्वयनमा जोड दिन जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भई छलफल गरियो । ती प्रस्तावको छलफल गरी सम्बन्धित मन्त्रीबाट जवाफ दिइएको थियो । गत माघ ४ गतेको बैठकमा प्रधानमन्त्रीले प्रत्यक्ष प्रश्नोत्तरमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो । यस अधिवेशन अवधिमा सभाको शून्य तथा विशेष समयमा सांसदहरूले समसामयिक विषयमा मन्त्रीहरूले जवाफ दिएका थिए ।गाेरखापत्र