सरकार र सीके राउतबीच ११ बुँदे सहमति

२४ फागुन, काठमाडौं । सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।

राउत पक्षले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्दै स्वतन्त्र राजनीति गर्ने तथा स्वतनत्रता, स्वाधीनता र अखण्डताको रक्षा गर्ने प्रतिवद्धता जनाइएको छ ।स्वतन्त्र मधेस आन्दोलनका नेता कार्यकर्ता र समर्थकलाई नेपालभित्र बसोबास गर्न जीविकोपार्जन गर्न, संघ संघठन र मूलधारको पार्टी खोल्न राज्यबाट कुनै कारबाही नगर्ने सहमति भएको छ । हिरासतमा मृत्यु भएका स्वतन्त्र मधेस गठबन्धनका बाँके जिल्ला संयोजक राममनोहर यादवलाई राज्यका तर्फबाट उचित क्षतिपूर्ति र एक जनालालाई रोजगारी दिने सहमति पनि भएको छ ।

कार्यक्रममा बोल्दै गठबन्धनका नेता राउतले आफूले उठाएका मुद्दालाई सुरक्षित रुपमा अवतरण हुनु समस्त जनताका लागि खुशीको कुरा भएको बताए ।स्वतन्त्र मधेस गठबन्धनको आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारको जिम्मा सरकारले लिने पनि सहमति भएको छ ।