भोली महाशिबरात्री, बेहुली सरह सिङ्गारियो पशुपतिनाथ मन्दिर

मुक्तिनाथ टाईम्स, १९ फागुन। सम्पुर्ण हिन्दुहरुको महान पर्व महाशिवरात्री भोली २० गते सोमबार देशभरका शिवालयमा भगवान शिवको पुजा-आरधना गरी मनाईदै छ।

सोहि अवसरमा पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ । स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन् । शिवरात्रिका लागि केही दिनदेखि नै पशुपति क्षेत्रलाई रङरोगन गरेर सजाउने कार्य भएको छ । शिवको दर्शनका लागि एकादशीदेखि नै पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति देखिएको छ ।

शिवरात्रीकै लागि भनेर नेपाल र भारतबाट चार हजार साधुसन्त तथा जोगीहरु पशुपति क्षेत्रमा भेला भइसकेको छन। पशुपति क्षेत्र विकास कोषले विभिन्न ३ स्थानबाट पशुपति दर्शन गर्न मिल्ने गरि लाइन व्यवस्थापन गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक/एक लाईन, जयवागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक/एक लाइन गरि बाहिरी रुपमा तीन स्थानबाट दर्शनका लागि लाइनहरु राख्ने तयारी गरिएको छ ।

आवश्यक परेको अवस्थामा भक्तालुको उपस्थिति हेरेर तीलगंगा राममन्दिर तर्फबाट समेत एक लाइन राख्न सकिने पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । शिवरात्रीका अवसरमा पशुपति आउने श्रद्धालु भक्तजनको सुरक्षा देखिएको सम्पूर्ण प्रबन्धका लागि नेपाल स्काउट समेतका गरि ५ हजार स्वंयसेवक परिचालन गरिने तथा डाक्टर, नर्स र बेडसहितको नेपाली सेनाको मूल स्वास्थ्य शिविर राखिने भएको छ । कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा तथा प्रचार प्रशारका लागि ८ वटा उपमिति गठन गरेको छ ।

दर्शनलाई सहज हुने गरि कैलाशमुनि, भुवनेश्वरी, बज्रघर, राममन्दिरलगायत ५ स्थानमा जुत्ताचप्पल कक्षको व्यवस्था मिलाईने भएको छ । सवारी पार्किङका लागि तीलगङ्गा, पशुपति क्षेत्र विकास कोषको कार्यालय, महानगरीय प्रहरी वृत्त ट्राफिक प्रहरी प्रभाव, गौशाला, सिफल, गुहेश्वरी पारी गरि ५ स्थान तोकिएको छ । त्यस्तै पशुपति क्षेत्रमा मासु, मदिरा, गाँजा, भाङलगायत नशालु पदार्थ बेचबिखन निषेध गरिएको छ ।