शनिबारदेखि पुनः वर्षा र हिमपात हुने संभावना

काठमाडौँ, फागुन १७। गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव आज सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्कौ जलवाष्पयुक्त नयाँ प्रणाली प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार आज मौसममा केही सुधार भई घाम लागे पनि भोलिदेखि फेरि प्रभावित हुनेछ । देशको अधिकांश भू–भागमा मध्यमदेखि हल्का वर्षा र हिमपातको गतिविधि पुनः दोहोरिने मौसमविद् अर्यालले बताए । राति देशको पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै भोलि शनिबार देशको पश्चिमी र मध्य भागमा सामान्य बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।