अनमोलको ‘क्याप्टेन’ ले गर्यो दमदार ओपनिङ

फागुन १७, काठमाण्डौ। शुक्रवारबाट प्रदर्शनमा आएको सुपरस्टार अनमोल केसी अभिनीत चलचित्र ‘क्याप्टेन’ को शुक्रवार बिहानदेखि साँझसम्म ७० प्रतिशतको आसपास ओपनिङ अकुपेन्सी रहेको वितरक मनोज राठीले जानकारी दिएका छन् । चलचित्रलाई ‘छक्का पञ्जा ३’ पछिकै ठूलो ओपनिङ मिलेको उनको दाबी छ ।

‘राजधानीका गोपी, अष्ट, गुण, गंगा आदी मध्यम वर्गीय दर्शकको अत्याधिक चाप रहने हल शुक्रवार बिहानैदेखि हाउसफुल छन् । बिहान मल्टिप्लेक्समा भने दर्शकको उपस्थिति कम भएकै हो । तर, दिउँसो २ बजेपछि भने सबै सोज लगभग हाउसफुल छन्’, उनले भने । दर्शक प्रतिक्रिया राम्रो भएका कारण चलचित्रले शनिबार देशभर आक्रामक व्यापार गर्नेमा उनी विश्वस्त छन् ।शुक्रवार बिहानदेखि साँझसम्म राजधानीका केही मेजर स्टेशनमा पुग्दा तन्देरी पुस्ताहरुको भीडभाड हलको टिकट काउन्टरमा देखिन्थ्यो । बिहान भने प्रायः हल सुनसानजस्तै थियो । न सिंगल न त मल्टिप्लेक्समा नै अकुपेन्सी राम्रो थियो । वितरक राठीले भनेझैँ ‘क्याप्टेन’ ले दिउँसोबाट पिकअप लिएको छ । घाम अस्ताउन लाग्दै गर्दा मल्टिप्लेक्सहरुमा टिकट लिने दर्शकको भीड बढेको थियो ।

अनमोलका जबरजस्त फ्यानले चलचित्रलाई दमदार भन्दै गर्दा अन्य दर्शकबाट भने मिश्रित प्रतिक्रिया आएको छ । राम्रो, एभरेज र कमजोर सबैथरी भन्ने दर्शक छन् । चलचित्रको मूल कथा फुटबलको भए पनि दर्शकले बढी इन्जोय चाहिँ लभस्टोरी र कमेडी पाटोमा गरेका छन् । पर्दामा अनमोल गोल हान्न संघर्ष गरिरहँदा त्यसले दर्शकमा रोमाञ्चकता पैदा गर्न चलचित्र चुकेको छ । डबिङमा अनगिन्ती त्रुटी रहेको चलचित्रका कलाकारको काम भने तारिफयोग्य छ ।

दीवाकर भट्टराई निर्देशित यस चलचित्रमा अनमोलका अलावा उपासना सिंह ठकुरी, प्रियंका एमभी, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई, सुनिल थापालगायतका कलाकारहरुको अभिनय छ । भुवन केसी निर्मित चलचित्रको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन् । यो चलचित्रको दुई दिने कलेक्सन डेढ करोड हुने अनुमान फिल्म पण्डितहरुको छ ।