ग्यास व्यबसायी आन्दोलनमा, फागुन अन्तिमदेखि ग्यास बिक्री ठप्प पार्ने

१७ फागुन, काठमाण्डौ। नेपाल आयल निगम र एलपी ग्यास उद्योग महासङ्घ बीच वार्ता असफल भएपछी उद्योगी आन्दोलनमा उत्रिएका छन्।

विरोध स्वरूप शुक्रबार उद्योगीहरूले एलपी ग्यासको पिडिओ खरिद बन्द गरेका छन। सरकारले आफ्नो माग पुरा नगरेपछि पिडिओ खरिद बन्द गरेका र आन्दोलन जारी गरेको महासङ्घले जनाएको छ।

निगमले तत्काल माग सम्बोधन गर्न नसक्ने भएकाले समयसीमा बढाउन आग्रह गरेको छ भने विगत लामो समयदेखि नै सरकारले आफूहरूको समस्याको समाधानका लागि कुनै पहल नगरी समयसीमा मात्र बढाएर अल्झाउन खोजेको आरोप एलपी ग्यास उद्योग महासङ्घले लगाएको छ।

एलपी ग्यासले फागुन ७ गते निगमलाई ज्ञापनपत्र मार्फत पेश गरेको मागप्रति नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घ र नेपाल ग्यास बिक्रेता महासङ्घले समेत एक्यबद्धता जनाएको छ।

उद्योग सञ्चालन खर्चको आधारमा मुनाफा दिन पर्ने, अनाधिकृत रूपमा दिएका इजाजत खारेज गर्नुपर्ने, तराईका सबै स्थानहरूमा एउटै बिक्री मूल्य कायम गरिनपर्ने, नेपाली नम्बरका ग्यास बुलेट सञ्चालनका लागि आवश्यक पहल गरी निकास दिनुपर्ने, प्रमाणीकरण भएका सिलिण्डरको आधारमा कोटा थप गर्नुपर्ने लगायत व्यवसायीका माग छन्।

सरकारले उद्योगीको माग सम्बोधन नगरे बुधबारदेखि ग्यास आयात गर्ने सवै रिफाईनरीहरुबाट लोडिङ पूर्णरूपमा बन्द गर्ने, २५ गते देखि एलपी ग्यास लोड भएका बुलेटहरू सम्पूर्ण भन्सार नाकाबाट छुटाउने, २८ गते मङ्गलबारदेखि देशभरका सम्पूर्ण ग्यास उद्योगहरु पूर्ण रूपमा बन्द गर्ने तथा ३० गते देखि देशभरका सम्पूर्ण ग्यास बिक्रेताहरूबाट ग्यास बिक्री वितरण पूर्ण रूपमा बन्द गरी कडा आन्दोलनमा उत्रने घोषणा व्यवसायीहरूले गरेका छन्।