मन्त्री अधिकारीको गृहनगरमा श्रदान्जली शुरु,रामघाटमा अन्त्येष्टि गरिने

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जलि कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ ।

काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी गराउनुभयो ।

मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन अर्पण गरेपछि उहाँको शवयात्रा पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटमा पुगी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि दिने कार्यक्रम पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा शुरु भएको छ । यसै क्रममा मन्त्री अधिकारीको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि दिनुभयो ।

श्रद्धाञ्जलि अर्पण गर्नका लागि हजारौँ सर्वसाधारण लामबद्ध छन् ।