बिजुलीका तारलाई अण्डरग्राउण्ड गर्ने तयारीमा कुलमान

मुक्तिनाथ टाईम्स, काठमाण्डौ। शहरलाई कुरुप बनाउने गरी जथाभावी पोलमार्फत झुण्ड्याइएका तारहरुलाई व्यबस्थित गर्ने उद्देश्यले तारलाई अण्डरग्राउण्ड गर्ने कार्य अगाडी बढेको छ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ महानगरपालिका भित्रका बिजुलीका तारलाई भूमिगत बनाउने अभियान अगाडि बढाएका छन् । लोडसेडिङ अन्त्य गरेर आफ्नो व्यवस्थापकीय खुबी देखाइसकेका कुलमानले अब बिजुलीका तारलाई भूमिगत बनाउने र वितरण प्रणालीलाई समेत स्वचालित गर्ने कार्यको सुरुवात थालेका छन।

सुरुआती चरणमा महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका बिजुलीका तारलाई भूमिगत गर्नका लागि भारतीय कम्पनी केईआई इन्ड्रष्ट्रिज लिमिटेडलाई छनोट गरिएको हो ।

पहिलो चरणमा महाराजगञ्ज वितरण केन्द्रअन्तरगतका बालुबाटार, गोंगबु, सामाखुसी लगायतका क्षेत्रमा तथा रत्नपार्क केन्द्रअन्तर्गत वागबजार, असन, दरबारमार्ग लगायतका क्षेत्रमा तार भूमिगतको काम हुनेछ ।

विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरण गर्दै शहरी सौन्दर्य चुस्त दुरुस्त राख्ने लक्ष्यका साथ प्राधिकरणले काठमाडौँ उपत्यकाको विद्युत प्रशारण प्रणालीलाई भूमिगत गर्न लागेकाे हाे ।