एनसेलको मुख्य कार्यालय सहित तिन स्थानमा बम बिस्फोट र आगजनी

काठमाण्डौ । शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको मुख्य कार्यालय अगाडि बम बिष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

स्थानिय मेडिसिटी अस्पतालमा उपचाररत घाइते सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको हो । उनको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । गुरुङलाई सुरुमा अल्का अस्पतालमा उपचार गरिए पनि पछि मेडिसिटी लगिएको थियो ।

शुक्रबार राति बम बिष्फोट हुँदा गुरुङसहित प्रतिक्षा खड्का र अनुषा डंगोल घाइते भएका थिए । प्रतिक्षा र अनुषाको उपचार जारी छ ।

शक्तिशाली बम बिस्फोट भएकोले वरिपरीका घर तथा पसलहरुमा समेत क्षेती पुगेको थियो।

गएराति नै पोखराको चन्द्रकालिका डाडाको नाकस्थित एनसेलको टावरमा शुक्रबार राति करीब १० बजेको समयमा आगजनी भएको हो। जिला प्रहरी कार्यालय कास्कीका अनुसार टावर अग्लो स्थानमा भएकोले दमकल पुग्न नपाउँदै टावर जलेर ध्वस्त भएको छ।

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-४ असैनामा रहेको एनसेल कम्पनीको टावरमा पनि शुक्रबार राति आगजनी भएको छ ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार टावरमा लगाइएको कम्पाउण्डको ताला फोडेर भित्र प्रवेश गरी टावरमा आगजनी गरेको पाइएको छ।