पार्टी अनुशासन भित्र नरहने सबैलाई कारबाही हुन्छः काङ्ग्रेस सभापति देउवा

पर्सा, ८ फागुन  । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन घात अन्तरघात गर्ने सबैलाई अनुशासनको कारवाही हुने बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस पर्साले आज वीरगञ्जमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीभित्र अनुशासन नभए पार्टी कमजोर हुने भएकाले पार्टीलाई हानि–नोक्सानी पुऱ्याउने सबैलाई कारवाही हुने स्पष्ट पार्नुभयो ।

सभापति देउवाले जथाभावी बोल्दै हिँड्ने काङ्ग्रेसका नेता शेखर कोइरालालाई समेत कारवाही हुन सक्ने जानकारी दिनुभयो ।“काङ्ग्रेस पार्टी कसैको बपौती होइन, यो नेपाली जनताको पार्टी हो, पार्टीलाई कमजोर गर्ने जो कोहीलाई कारवाही हुनेछ” सभापति देउवाले प्रस्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र शुद्धीकरणको अभियान चलाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले सरकारको कमी कमजोरीका विषयमा जनतालाई जानकारी गराउँदै जनताका अधिकार रक्षाका लागि सङ्र्घषमा होमिन काङ्ग्रेसका सबै नेता तथा कार्यकर्तालाई अपिल गर्नुभयो ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजयकुमार दिवेद्वीको अध्यक्षतामा सम्पन्न कार्यकर्ता भेलालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, फर्मुल्लाह मंसुर, अजयकुमार चौरसिया, गगन थापालगायत वक्ताले मुलुकमा बढ्दै गएको हत्या, हिंसा र बलात्कार, भ्रष्टाचार र महँगीले जनता पीडित भए पनि सरकार बेखबर रहेकोे आरोप लगाउनु भयो ।