राष्ट्रिय प्रजातन्त्र दिवसः विभिन्न कार्यक्रम गरी भव्यरुपमा मनाइँदै

काठमाडौँ, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस–२०७५ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिँदै छ । विशेष समारोहमा प्रमुख अतिथिका रूपमा राष्ट्रपति विद्यादेवी भण्डारी र विशिष्ट अतिथिका रूपमा उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनहुनेछ ।

त्यस्तैं, शहीद दिवस मूल समारोह समितिका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त विशेष समारोहलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले विगतको परम्परालाई परिवर्तन गरी यसवर्षबाट शान्तिका दूत परेवाजोडी सैनिक जवानलाई नै उडाउन लगाउने निर्णय गरेको जानकारी मूल समारोह आयोजक समितिले दिएको हो ।

वीर शहीदहरुप्रतिको सम्मानमा बिहान सूर्योदयसँंगै सेनाले बिगुल (रिभ्याली) बजाउने, तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका सदस्यसचिव एवं गृह मन्त्रालयका सचिव प्रेम राईले बताउनुभयो ।

प्रजातन्त्र प्राप्तिका लागि ज्यान आहुति दिने ज्ञात अज्ञात शहीदहरुप्रति उच्च सम्मान र श्रद्धान्जलि अर्पण गर्न सैनिक हेलिकप्टरबाट पुष्पबृष्टि तथा बेलुन उडाइने छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटका छात्रछात्राहरुले मार्चपास परेड प्रदर्शन गर्ने छन् ।

उपत्यकाको तीनवटै जिल्लाका महानगरपालिका र नगरपालिकाबाट सहभागी विभिन्न जातजाति र समुदायको रहनसहन तथा सांस्कृतिक पहिचान झल्किने भेषभूषा र पोशाक सहितको सांस्कृतिक झाँकीहरु प्रदर्शन गरिने छन् ।

सेना, प्रहरी र सशस्त्र प्रहरी ब्यान्डहरुले राष्ट्रिय गीत तथा सङ्गीत र ब्यान्ड बाजाहरु प्रदर्शन गर्ने छन् । नेपाल सरकारले सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन शहीद दिवस मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार सोमबार उपत्यकाको तीनवटै जिल्लामा बृहत् सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिले आग्रह गरेअनुसार प्रजातन्त्र दिवसलाई भव्य रूपमा मनाउन सोमबार साँझबाट देशभर दीपावली गरियो । त्यस्तैं, विभिन्न देशमा रहेका दूतावास र महावाणिज्य दूतावासहरुलाई पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय प्रजातन्त्र दिवस मनाउन सरकारले यसअघि नै निर्देशन दिइसकेको जानकारी गृहमन्त्रालयले दिएको छ ।

प्रदेश सरकार तथा स्थानीय निकायहरु (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) लाई प्रजातन्त्र दिवस भव्य रुपमा मनाउन बृहत् सरसफाई, साहित्यिक गोष्ठीका अतिरिक्त विशेष किसिमका औपचारिक तथा अनौपचारिक कार्यक्रम आयोजना गरी मनाउन निर्देशन दिएको छ । यो खबर आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।