६९ औ प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रप्रमुख तथा सरकार प्रमुखद्वारा शुभकामना व्यक्त

काठमाडौं– एक सय चार वर्षको जहानियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ६९ औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ ।

सरकारले प्रजातन्त्र दिवस भव्य रूपमा मनाउन लागि रहेको छ। यसै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति विद्या भण्डारीले प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना दिनु भएको छ । ‘निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवस मनाउने गरेका छौँ’, राष्ट्रपति कार्यालय शीतल निवासबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा हामीले अभूतपूर्व उपलब्धि हासिल गरेका छौँ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको संघर्षको प्रतिफल हो।’

प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनुभएको छ । उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताउनुभयो ।

वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उहाँको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गर्नुभएको छ ।