लाेक सेवा आयोगले २० हजार नयाँ कर्मचारीको आवेदन खुलाउदै

मुक्तिनाथ टाईम्स

फागुन १६, काठमाण्डौ। लाेक सेवा आयोगले करिब २० हजार नयाँ निजामती कर्मचारी भर्नाका लागि गृहकार्य थालेकाे छ। कुन कुन पदका लागि कति कति कर्मचारी आवश्यक भएको यथार्थ जानकारी भने उल्लेख गरिएको छैन।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितका अनुसार कर्मचारी समायाेजन प्रकिया टुंगाेमा पुगे लगत्तै नयाँ भर्ना सुरू हुनेछ ।

राजपत्राङ्कित तृतीय श्रेणीका अधिकृतको ३३ औँ आधारभूत प्रशासन प्रशिक्षणको समापन समारोहको अवसरमा मन्त्री पण्डितले उक्त कुराको जानकारी दिनुभएको हो।

‘लोक सेवा आयोगलाई पनि हामीले नयाँ कर्मचारी भर्ना प्रक्रिया शुरु गर्न तयारी अवस्थामा बस्न भनेका छौँ’ उहाले भन्नुभयो, ‘समायोजन सकिएलगतै १५ देखि २० हजारसम्म कर्मचारीको नयाँ भर्ना शुरु हुनेछ ।’

मन्त्री पण्डितले भर्खरै कर्मचारी समायोजन विधेयकको संसदबाट सर्वसम्मत रुपमा पारित भएको भन्दै अब यही महीनाभित्र प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवासँग जोडिएका मापदण्ड संसदमा पेश गर्ने बताउनु भयो ।

उहाले प्रशासनमा भएको विसङ्गति र विकृति पूर्णरुपमा हटाएर मन्त्रालयका सबै काम नयाँ प्रविधिबाट गर्ने समेत जानकारी दिनुभयो।

नवनियुक्त कर्मचारीलाई हसिलो मुहार भएर राष्ट्र सेवामा लाग्न समेत मन्त्री पण्डितले आग्रह गर्नुभयो। उहाले राष्ट्रलाई कमजोर बनाउने काम कर्मचारीले गर्न नहुने भन्दै निजी स्वार्थभन्दा राष्ट्रको सेवा गर्न लाग्नुपर्ने बताउनु भयो।