कर्मचारी समायोजन विधेयक प्रतिनिधिसभाको बैठकबाट बहुमतले पारित

काठमाडौं, फागुन ३ । कर्मचारी समायोजन विधेयक २०७५ बहुमतले पारित भएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले विधेयक बहुमतले पारित गरेको हो।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पारित गरियोस् भनि पेश गर्नु भएको सो विधेयक बहुमतले पारित गरिएको हो।

बैठकमा सांसदहरूले विधेयकमाथि छलफलका लागि थप समय मागेका थिए भने जवाफमा संघीय मामिला तथा सामान्य प्रशाशन मन्त्री लालबाबु पण्डीतले समितिबाटै छलफल भएर आएकोले थप छलफल आवश्यक नभएको बताएका थिए।

विधेयकमा प्रदेश र स्थानीय तहमा गएका निजामती कर्मचारीहरुको संघका सरुवा हुन नपाउने व्यवस्था गरिएको छ।

कर्मचारी समायोजन गर्दा निवेदनमा उल्लेखित प्राथमिकताअनुसार कार्यरत पदको जेष्ठता, कार्यरत पदभन्दा तल्लो श्रेणी वा तहको जेष्ठता र उमेरको जेष्ठताका आधारमा गरिने विधेयकमा उल्लेख छ।

यसैगरी कर्मचारीलाई प्रदेश वा स्थानीय तहको पदमा समायोजन गर्दा कार्यरत पदको जेष्ठता, तल्लो श्रेणी वा तहको जेष्ठता र कार्यरत प्रदेश वा स्थानीय तहका आधारमा समायोजन गरिने व्यवस्था गरिएको छ।