सरकारको एक वर्ष भ्रम छर्नमै केन्द्रितः नेपाली काङ्ग्रेस

काठमाडौं, ३ फागुन । सरकार सञ्चालनको एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रूपमा व्याख्या गरिरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कमजोरी ढाकछोप गर्न र सपना बाँड्नमै केन्द्रित रहेको भन्दै सरकारको आलोचना गरेको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

केपी ओली नेतृत्वको सरकार गठन भएको पहिलो वर्ष सकारात्मक नरहेको कांग्रेसले ठहर गरेको हो। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुल्ठूला सपना बाँडे पनि व्यवहारमा सरकारले परिणाममुखी काम गर्न नसकेको दाबी गरे। ‘भाषण गर्न त उहाँहरू खप्पिस नै हुनुहुन्छ तर वर्ष दिनसम्म खै परिणाम रु’, उनले भने, ‘समाजवाद उन्मुख भन्नुहुन्छ तर कस्तो समाजवाद हो कुनै खाका छैन। समाजवाद भनेको त निमुखालाई न्याय, विपन्नलाई आय हो। यसतर्फ कुनै काम भएको छैन।’

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनशीलतामा जोड दिए पनि कांग्रेसले भने सरकार सुशासन कायम गर्न असफल बनेको दाबी गरेको छ। ‘सुशासनमा त भद्रगोल नै देखियो नि, विकासमा पनि ठोस पाइला चालेको देखिँदैन’, वरिष्ठ नेता पौडेलले भने।

प्रधानमन्त्री ओलीले सरकारको वर्ष दिन पूरा भएको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गरेका थिए। उनले सरकारका प्रगतिबारे विपक्षीले भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विपक्षीको आलोचनाभन्दा एक वर्षमा काम गर्न नसकेकोप्रति सरकारले आत्मालोचना गर्दै सुधार गर्न सुझाए। ‘एक वर्षको प्रगति विवरण राख्दै गर्दा सुरुमै विपक्षीको आलोचना गर्नु आवश्यक नै थिएन। एक वर्षमा भएका कमजोरी आत्मसात गर्दै सुधार्ने प्रतिबद्धता जनाउनुपर्ने थियो’, उनले भने, ‘त्यसतर्फ सरकारले कुनै चासो देखाएन। बालुवामा जग हालेपछि घर बनाउन कसरी सम्भव होला ? ’ प्रधानमन्त्री ओलीको सम्बोधनलाई उनले ‘चार ठेकी मोही, तीन थोपा घ्यू’ को उपमा दिए। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकबाट लिएका हौं ।