हिउँमय दोलखा, बाक्लो हिमपातका कारण चिसोसङ्गै जनजिवन प्रभावित

-मुक्तिनाथटाईम्स सम्वाददाता-

तस्वीरः- नवराज घिमिरे(दोलखा)

दोलखा,२६ माघ। पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिमपात भएको छ।

यसै क्रममा दोलखा जिल्लको अधिकांश स्थानमा भारी हिमपात भएको छ। बिहिबारदेखि लगातार पानी पर्नुको साथै अत्याधिक चिसो बढेको थियो भने शनिबार बिहान देखि लगातार बाक्लो हिउँ परिरहेको छ।

दोलखाको कालिन्चोक, मुडे, चरिकोट, जिरी, सैलुङ लगायत उच्च हिमाली भेग हिउँमय भएको छ। बाक्लो हिमपातका कारण चिसो बढ्नुको साथै दैनिक जनजिवनसमेत प्रभावित भएको छ। मुडे, खरीढुङ्गा तथा चरिकोटमा २ फिट सम्म बाक्लो हिउँ परेको कारण यातायात समेत प्रभावित भएको छ।

बाक्लो हिउँ परेको कारण कालिन्चोक जाने रुट समेत प्रभावित भएको छ। बाक्लो हिउँको कारण गाडी चल्नसकेको छैन भने कालिन्चोक दर्शन गर्न तथा हिउँ खेल्न जाने पर्यटकहरु हिडेरै जान बाध्य भएका छन।