काठमाडौको फुल्चोकी लगायत बिभिन्न क्षेत्रमा भारी बर्षासहित हिमपात

मुक्तिनाथ टाईम्स। देशको बिभिन्न क्षेत्रमा भारी बर्षातसहित हिमपात भएको छ। गत बिहिबारदेखि मौसम परिवर्तन भएपछि लगातार बर्षातसहित पहाडी तथा हिमली क्षेत्रमा हिमपात भैरहेको छ।

आज काठमाडौको फुल्चोकी, चन्द्रागिरी लगायतका क्षेत्रमा हिमपात भएर काठमाडौ उपत्यका वरपरको डाँडाहरु सेताम्य देखिएका छन। यस सङ्गै दोलखाको कालिन्चोक, चरिकोट, सैलुङ, सल्यान, डडेल्धुरा, सोलुखुम्बु, ताप्लेजुङ लगायत बिभिन्न क्षेत्रमा भारी बर्षातसहित हिमपात भएको छ।

आज बिहानैबाट चन्द्रागिरी लगायतका क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न जानेहरुको बाक्लै भिडभाड देखिएको छ।

दोलखाको कालिञ्चोक क्षेत्रमा विहिवार देखि लगातार हिमपात भैरहेको छ । शुक्रवार पनि विहानै देखि हिमपात भएकोले पर्यटकहरुलाई मन्दिर पुग्न कठिनाई भएको स्थानिय बताउछन् । हिमपातले मन्दिर परिसर तथा जलकुण्ड समेत ढाकिएपछि पर्यटकहरु झन उत्साहित भएका छन।

विहिवार विहानै देखि लगातार हिमपात भएपछि अहिले दुई फिट भन्दा बढी हिउँ जमेको छ। लगातारको हिमपातले बाटोभरी हिउँ जमेपछि ठूलो तथा टायरमा जन्जीर नभएका सवारी साधन भने गैरबाट माथि जान सकेका छैनन् । गैरीबाट पैदल जाँदा मन्दिर पुग्न २ देखि ३ घण्टा लाग्ने स्थानिय बताउछन् ।

दोलखा कालिञ्चोक रिर्सोटका सञ्चालक नुर्वु तमाङ लगातारको हिमपातले केहि असजिलो भएपनि चारै तिर हिउँले डाँडाकाडाँ ढाकेकोले पर्यटकहरु निक्कै उत्साहित भएको बताउछन् । लगातारको हिमपातले केहि असहज भएपनि कालिञ्चोक आउने पर्यटकहरु सबै खुशी देखिएका छन् तमाङले भने – सबै पर्यटक हिउँमा खेलेर निक्कै रमाईलो गरिरहेका छन् ।

३८४२ मीटरको उँचाईमा रहेको कालिञ्चोक मन्दिर प्राकृतिक र धार्मिक दुबै हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । कालिञ्चोकको कुरीबाट मन्दिरसम्म केवलकार सञ्चालन भएपछि पर्यटकको संख्यामा बृद्धि भएको स्थानिय होटल व्यवसायीहरुको भनाई छ । झण्डै ४ हजारको उँचाईमा रहेको मन्दिर परिसरको जलकुण्ड नै कालिञ्चोकको मुख्य विशेषता हो ।