कांग्रेसद्वारा देशव्यापी आन्दोलन घोषणा, माघ २१ गते विरोधसभा गर्ने

काठमाडौं, १३ माघ । नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आज बसेको केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्ध देशव्यापी आन्दोलनको घोषणा गरेको हो । कांग्रेसले कम्युनिष्ट अधिनायकबादबिरुद्ध यहि माघ २१ गते ७७ वटै जिल्ला सदरमुकाममा विरोध प्रदर्शन गर्ने भएको छ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य समितिको आज बसेको बैठकले संसदीय पद्धति बिपरित सरकारले संसदमा बल प्रयोग गरेर बिपक्षीमाथि दमन गरेर बिधेयक पारित गरेकोमा कडा शब्दमा निन्दा गरेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिनुभयो ।

पूर्ववर्ती सरकारले ल्याएको चिकित्सा शिक्षा बिधेयक हुबहु लागू गर्न तथा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै अनशनरत डा. गोबिन्द केसीको जीवनरक्षाका लागि दबाब सिर्जना गर्ने कांग्रेसले निर्णय गरेको छ।

बिपक्षी दलको नेतालाई थाहै संबैधानिक परिषद्को बैठकबाट निर्णय भएको भन्दै सरकारले बिभिन्न संबैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेकोप्रति समेत कांग्रेसले आपत्ति जनाउँदै सो निर्णय बिधिसम्मत ढंगबाट नभएकोले सरकारले फिर्ता लिनुपर्ने माग गरेको छ।

यसैगरी, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा संलग्नहरुलाई पक्राउ गरी कार्बाही गर्न सरकार कत्ति पनि गम्भीर नभएको भन्दै कांग्रेसले दोषीमाथि कडा कार्बाहीको माग गरेको छ।

प्रेस विज्ञप्ति

माघ  १३, २०७५

०७५ माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शनको घोषणा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा आज बस्यो ।

बैठकको निर्णय देहाय बमोजिम रहेको छ—
(१) गत माघ ११ गते प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरित मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको घटनालाई गम्भीरतापूर्वक लिंदै बैठक त्यसको घोर भत्र्सना गर्दछ ।
(२) माघ २१ गते ७७ जिल्लामा विरोध प्रदर्शन आयोजना गर्ने, प्रदर्शन निम्न ६ मुद्दामा केन्द्रीत रहनेछ —
(क) संसदमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्री स्वयंको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द के.सी.को अनसनप्रति संवेदनहीन व्यवहार ।
(ख) स्वर्गीय नेताहरु— गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जी.पी. कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयास ।
(ग) प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना ।
(घ) देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ महिना पुगी सक्दा पनि दोषी पत्ता लगाउन त परै जावस् निर्दोषलाई दोषी ठह¥याउने षडयन्त्र ।
(ङ) महंगी, भ्रष्टाचार एवं अनेकौं जनविरोधी निर्णयहरू ।
(च) जिल्ला स्तरमा रहेका स्थानीय मुद्दाहरू ।

माघ २१ को प्रदर्शनमा व्यापक सहभागिताका लागि बैठकले सबैमा हार्दिक अपील गरेको छ ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक २०७५ माघ १४ गते दिनको १ः०० वजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः वस्नेछ ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईले आफ्नो धारणा राख्नु भएको थियो ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव