प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं, ११ माघ । संघिय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। आजको बैठकमा सरकारले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने कार्यसूची मात्र राखिएको संघिय संसद सचिवालयले जनाएको छ।

संसद अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कुनै पनि हालतमा आजको संसद् बैठकमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न नदिने अडान कायमै राखेको छ। काँग्रेस जुनसुकै हालतमा पनि रोक्ने योजनामा छ । उता सरकार पक्ष नेकपाले पनि जसरी पनि आजको बैठकबाट चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरेर पारित गर्ने रणनीति लिएको छ । सरकारले जवरजस्ती विधेयक पेश गर्ने र कांग्रेसले संसद् अवरोध गर्ने भनेकोले आजको संसद् तनावपूर्ण हुने संसदका जानकारहरुको आंकलन छ।यसअघि नेपाली कांग्रेसले सोमबार र मंगलबार गरि लगातार ५ वटा बैठक अबरोध गरेको थियो। जसका कारण उक्त विधेयक सदनमा पेश हुन सकेन्। सरकार र प्रतिपक्षको रस्साकस्सीका कारण संसद सचिवालयले आजको बैठकमा मर्यादापालकसमेत थप गर्ने भएको छ। अहिले १३१ जना मर्यादापालक रहेकोमा अरु ३० जना थप गर्ने तयारी गरेको हो।

सरकारले विधेयक संसदीय प्रक्रियामा गइसकेकाले कुनै पनि हालतमा फिर्ता नहुने र परिमार्जन पनि नगर्ने अडान राखेको छ। कांग्रेसले भने सभामुख कृष्णबहादुर महराको भूमिका पार्टीको नतोजस्तो भएकाले माफी नमागेसम्म सदनको कारबाही अघि बढ्न नदिने बताएको छ।पछिल्लो समय सरकारले जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई विघटनको संघारमा पुर्याएको, डा. गोविन्द केसीको मागलाई बेवास्ता गरेको, निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न अपराधीलाई कारबाही नगरेको तथा प्रमुख प्रतिपक्ष दलको नेताको उपस्थितिबिना नै संवैधानिक परिषद्को बैठक राखी नियुक्तिका निर्णयहरु गरेकोप्रति कांग्रेसले तीव्र असन्तुष्टि जनाएको छ ।