चिकित्सा शिक्षा विधेयक जुनसुकै हालतमा पास गरेरै छोड्ने मन्त्री बाँस्काेटाको दाबी

माघ १०, काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले चिकित्सा शिक्षा विधेयक सरकारले पारित गरेरै छोड्ने बताएका छन् ।

मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले शिक्षा तथा स्वास्थ्य समितिले तयार पारेको चिकित्सा शिक्षा विधेयक डाक्टर केसीसँग भएका सम्झौताभन्दा एक कदम अघि भएको समेत दाबी गरे।

‘सरकारले आफ्नो विधेयक संसदीय समिति र संसदमा पेस गरिसकेको छ । छलफल पनि भइसक्यो । यो आफ्नो प्रक्रियाबाट गएको हो ।’, मन्त्री बाँस्कोटाले भने, ’अब संसद्को क्षेत्रधिकार बनिसक्यो । त्यसैले यो विधेयक पास हुन्छ, फिर्ता लिने कुरा छैन्।’

विधेयकमा मेडिकल कलेज खोल्न मापदण्डको अनिवार्यताका खोजी गरिएको भन्दै उनले यो विद्यार्थीमुखी र जनतामुखी भएको दाबी गरे।

‘मेडिकल शिक्षाको कुरा हो भने डाक्टर केसीका माग पूरा भइसके। त्यसका लागि उहाँले अनसन बस्नु आवश्यक छैन। उहाँले राखेका मागको निशाना अन्तै छ,’ बाँस्कोटाले भने।

मिडियाहरुले विधेयकमा भएका राम्रा कुरा प्रचारप्रसार नगरेर एकहोरा केसीका पक्षमा समाचार पेस गरेको समेत आरोप लगाए।