मेलम्चीको बाँकी काम सेनालाई दिने तयारी

काठमाडौं, १० माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको जिम्मेवारी नेपाली सेनालाई दिने तयारी गरेको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसीले बीचमै काम छाडेर गएपछि सरकारले सीएमसीसँग ठेक्का तोड्ने निर्णय लिएको थियो । महत्वपूर्ण आयोजनाका रूपमा लिइएको मेलम्चीलाई सरकारले निर्माणको बाँकी कामको जिम्मा सेनालाई दिने तयारी गरेको हो ।

स्रोतका अनुसार नयाँ निर्माण कम्पनी खोज्ने कि नेपाली सेनालाई दिने भन्ने विषयमा सरकारी तवरमा छलफल भइरहेको छ । तर, सरकारले मेलम्चीको बाँकी काम गर्न उपयुक्त विकल्पका रूपमा नेपाली सेनालाई राखेको हो ।

सीएमसीले काम छाडेपछि बाँकी काम अगाडि बढाउनका लागि सरकारले सेनालाई पनि उपयुक्त विकल्पका रूपमा छानेको खानेपानी मन्त्रालय स्रोतले जनाएको छ । आयोजनाको बाँकी रहेको थोरै मात्र कामका लागि नयाँ ठेकेदार छनोट गर्दा काममा अर्को जोखिम मोल्नुपर्ने भएकाले सेनालाई नै दिँदा जायज हुने सरकारको बुझाइ छ । यो खबर आजको राजधानी दैनिकबाट लिएका हौं ।