हेटौडामा विशाल सभा गर्दै तरुण दल

हेटौँडा, १० माघ । नेपाल तरुण दलले आज प्रदेश ३ को राजधानी हेटौँडामा विशाल विरोध सभा गर्ने तयारी गरेको छ । नेपाल तरुण दलले वर्तमान सरकारको रवैया विरुद्ध सातवटै प्रदेशमा विरोध सभा गर्नेक्रममा आज प्रदेश ३ को राजधानी हेटौडामा विशाल प्रदर्शनको तयारी थालेको अध्यक्ष जीतजंग बस्नेतले जानकारी दिनुभयो ।

तरुण दलको यो कदमलाई नेपाली कांग्रेसले पनि साथ दिएको छ । उसको प्रर्दशनलाई भव्य रुपमा सफल बनाउन कांग्रेस केन्द्रले यस अघि नै जिल्ला नेतृत्वलाई परिपत्र गरिसकेको छ ।सरकारका विरुद्ध दवाव सिर्जना गर्न अस्ती प्रदेश १ को राजधानी विराटनगर, हिजो मात्र २ नं. प्रदेशको जनकपुरमा आज हेटौँडामा हजारौँको संख्यामा कार्यकर्ता उतार्ने तयारी गरेको छ । आजको कार्यक्रमलाई सम्वोधन गर्नका लागि तरुण दलका केन्द्रीय नेताहरु हिजो प्रदेश नं. तीनको हैटौडामा पुगिसकेका छन् ।आजको विशाल प्रदर्शनपछिको सभालाई तरुण दलका केन्द्रीय नेताहरु अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाई, महासचिव भपेन्द्रजंग शाही र कोषाध्यक्ष बिद्धान गुरुङ लगाएतका नेताहरुले सम्वोधन गर्ने हेटौँडा तरुण दलका अध्यक्ष ईश्वर पाठकले जानकारी दिनुभयो ।उहाँका अनुसार प्रदेश तीनको प्रर्दशनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सर्व कार्यकर्ताहरु हेटौँडा पुगिसकेको र आज विहान पनि आउने क्रम जारी रहेको छ ।