स्वीस बैंकमा खाता र ट्याक्स हेवनमा कम्पनी दर्ता छैनः अध्यक्ष ढकाल

काठमाडौँ, ३ माघ । आइएमइ समुहका अध्यक्ष चन्द्रप्रसाद ढकालले लेसेन्टर फर इन्भेस्टिगेटिभ जर्नालिज्म (सीआईजे) नेपालमार्फत तयार गरी आज विभिन्न सञ्चारमाध्यममा सार्वजनिक केही समाचारमा आफनो पनि नाम जोडिन आएको भन्दै यस प्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

ढकालले सार्वजनिक समाचार र त्यससँग सम्बन्धित सम्पादकीय इन्टरनेसल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिज्म (आईसीआईजे) सँग उपलब्ध प्याराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आधारित भएको बताएका छन । प्याराडाइज पेपर, पनामा पेपर र स्वीस लिकमा आफु र आफु सम्बद्ध कुनै पनि कम्पनीको नाम कहिँ कतैबाट नजोडिएको बताएका छन् ।

उनले आफु र आफु संलग्न कुनै पनि स्वीस बैंकमा खाता नभएको र कुनै पनि ट्याक्स हेवन मुलुकमा कम्पनी दर्ता नभएको भन्दै आइएमई समूहले प्रवद्र्धन गरेका कुनै पनि कम्पनीमा ट्याक्स हेवन मुलुकबाट लगानी नआएको बताएका छन् ।

उनले कानुनले दिएका अधिकार प्रयोग गरी पूरै प्रक्रियाको पालना गरेर बेलायतमा खोलिएको एउटा कम्पनीको विषयलाई जोडेर आफु र आफु सम्बद्ध कम्पनीमाथि भ्रम सिर्जना गरी, सार्वजनिक छविमा क्षति पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै यसमा गम्भीर आपत्ति समेत प्रकट गरेका छन् ।

ढकालका अनुसार नेपालमा निजी कम्पनी स्तरमा रेमिट्यान्स सेवा सुरु गर्दा सन् २००२ मा नेपाल राष्ट्र बैंकको अनुमतिमा मलेसियाबाट स्वदेशमा रेमिट्यान्स ल्याउने यात्रा सुरु गरिएको हो । नेपालमा अनौपचारिक क्षेत्रबाट रेमिट्यान्स भित्रिने गरेकोमा इन्टरनेसनल मनी एक्सप्रेस (आईएमई) ले राष्ट्र बैंकको स्वीकृति लिई बैंकिङ च्यानलबाट रेमिट्यान्स ल्याउन पहिलो कम्पनीको रूपमा काम थालेको हो ।

उनले त्यसलगत्तै बेलायत लगायत अन्य देशबाट पनि कारोबार गर्नका लागि १७ जुन २००२ मा राष्ट्र बैंकबाट स्वीकृति लिएर २१ अगस्ट २००२ मा बेलायतमा कम्पनी स्थापना भएको जनाएका छन् । त्यसपछि नेपालीको बाहुल्य रहेका देशमा विभिन्न व्यक्तिसँग सहकार्य गरेर कम्पनी स्थापना गरी रेमिट्यान्स ल्याउन थालिएको भन्दै उनले त्यसको जानकारी सवै वेबसाइटमा समेत राखेको बताएका छन् ।

उनका अनुसार यी कम्पनी स्थापना गर्नका लागि नेपालबाट लगानी बाहिर लगेको होइन । बेलायतकै सन्दर्भमा यो एक पाउन्डको कम्पनी हो । हामीले त्यहीँ उपलब्ध साधन स्रोत प्रयोग गरी यो कम्पनीमार्फत बेलायतसँगै युरोपबाट रेमिट्यान्स नेपाल ल्याउन थालेका हौं । अबैध च्यानलमार्फत नेपाल आउने रेमिट्यान्स निरुत्साहित गरेर औपचारिक च्यानलबाट रेमिट्यान्स ल्याउन हामीले १८ वर्षदेखि गरिरहेको पहललाई सम्भवतः कसैले नजरअन्दाज गर्न मिल्दैन भनेका छन् ।

ढकालले सरकार र राष्ट्र बैंकको अनुमतिबाट सन् २००१ मा सुरु भएको आईएमईले यो अवधिमा विश्वका विभिन्न मुलुकबाट करिब १४ खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स ल्याइसकेको र यसरी हामीले संस्थागत गरेको रेमिट्यान्स व्यापारका कारण अहिले हाम्रो अर्थतन्त्र अगाडि बढिरहेको छ भने कुल गार्हस्थ उत्पादन (जीडीपी) मा रेमिट्यान्सको योगदान ३० प्रतिशत पुगेको भन्दै हाम्रो कम्पनी सबैभन्दा धेरै कर तिर्ने रेमिट्यान्स कम्पनीका रूपमा नेपाल सरकारबाट सम्मानित हुँदै आएको एवं आज रेमिट्यान्स सेवासँगै हाम्रो समूह बैंक, बीमा, जलविद्युत, होटल, चन्द्रागिरि केबुलकार, डिस होम सेवासम्म विस्तार भएको उल्लेख गरेका छन् ।

उनका अनुसार आईएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट लिमिटेडलाई आईएमई लिमिटेडमा परिवर्तन गरिएको हो । कम्पनी सुरुवात गरेपछि म आफैं त्यो कम्पनीको सञ्चालक बनेको हुँ र २० जुलाई २०१० मा आफुले त्यो कम्पनीबाट राजिनामा दिएको बताएका छन् ।

ढकालले भाइ हेमराज ढकालको सन्दर्भमा उनी गैरआवासीय नेपाली (एनआरएन) भएको र उनले सन् १९९० देखि जापान, मलेसिया, बेलायतलगायत देशमा बसेर आईएमई रेमिट्यान्सको बिजनेस हेर्दै आएको भन्दै विदेशमा रेमिट्यान्स सेवा विस्तार गर्नका लागि नेपालबाट मात्र गरेर सम्भव नहुने हुँदा भाइ हेमराजले एनआरएनको हैसियतमा नेपालीहरू भएको देशमा विभिन्न कम्पनीसँग सहकार्य गरेर नेपाल भित्रिने रेमिट्यान्समा टेवा पुयाउँदै आएको बताएका छन् ।

नेपालको कानुनले एनआरएनलाई कम्पनी स्थापना गर्न, सञ्चालन गर्न र त्यसको सञ्चालक समिति सदस्य बन्न कुनै बन्देज लगाएको छैन भन्दै ढकालले कम्पनीमा संलग्न कमल पौडेल र अनिलकुमार लामिछाने नेपाली भए पनि उहाँहरूको अहिलेको राष्ट्रियता बेलायती रहेको र उहाँहरूले बेलायतमा कम्पनी स्थापना गर्दा र सञ्चालन गर्दा नेपालले आपत्ति जनाउनुपर्ने र गैरकानुनी हुनुनपर्ने बताएका छन् ।

उनले खोज पत्रकारितामा विख्यात आईसीआईजेको साझेदारीमा सीआईजे जस्तो संस्थाले एक वर्ष लगाएर गरेको खोजमा यस्तो गम्भीर त्रुटि हुनु नपर्ने भन्दै त्यसमाथि बेलायतमा स्थापना गर्ने कम्पनी, त्यसले गर्ने व्यावसायिकदेखि आर्थिक क्रियाकलाप सबैको पहुँचमा उपलब्ध कुरा सबैको पहुँचमा उपलब्ध सूचनालाई गलत समय र सन्दर्भ पारेर खोज पत्रकारिताका नाममा आफुहरुमाथि भ्रम सिर्जना गर्ने गलत नियत राखिएको स्पष्ट पार्न चाहेको बताएका छन् ।