डा. केसीका माग पूरा नभए सडकदेखि सदनसम्म आन्दोलन गर्छौः रामचन्द्र पौडेल

पौष ३०, काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डा. गोविन्द केसीसँग भएको सहमति विपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदमा पेश गरेको भन्दै तत्काल विधेयक नसच्याए सडकदेखि सदनसम्म आन्दोलन गर्ने चेतावनी दिएका छन्।

सोमबार कांग्रेस संसदीय दलको कार्यलय सिंहदरबारमा आकस्मिक पत्रकार सम्मेलन गर्दै नेता पौडेलले सरकारले आफूलाई समाजवादी सरकार भनेर दाबी गरेपनि सरकार गलत बाटोमा हिँडिरहेको आरोप लगाएका हुन्। ‘तर सरकारलाई गलत बाटोमा हिँड्न हामीले दिँदैनौं,’ नेता पौडेलले भने।

डा. गोविन्द केसी आफूसँग भएको सहमति विपरित सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक समितिबाट पारित गरी संसदमा पेश गरेको भन्दै इलाममा अनशनरत छन्। आफूसँग भएको सहमति कार्यान्वयन नभएसम्म अनशन जारी राख्ने डा. केसीको अडान छ।

नेता पौडेलले मुलुकका दूरदराजमा मेडिकल कलेज खोल्ने मागलाई जायज भन्दै सरकारले केसीको माग सम्वोधन गर्नुपर्ने बताएका छन्। केसीको माग पूरा नभए आफूहरुले सडकदेखि सदनसम्म आन्दोलन गर्ने उनले चेतावनी दिए।