चिकित्सा शिक्षा विधेयक बहुमतबाट पारित भए संसद अवरोधः काँग्रेस

काठमाडौँ, ३० पुस । बहुचर्चित चिकित्सा शिक्षा विधेयक संसदमा पेश भएसँगै प्रमुख प्रतिपक्षी दल काँग्रेसको असन्तुष्टि चुलिएको छ ।

हिजो काँग्रेसको असन्तुष्टिका बाबजुद संसदको शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ संसदमा पेश भएसँगै काँग्रेस असन्तुष्ट भएको हो ।

यसैबीच काँग्रेस सांसद दिलेन्द्र बडुले बहूमतका आधारमा विधेयक पारित भएमा संसद चल्न नदिने चेतावनी दिनुभएको छ । साउन २१ गते संसदले विधेयक समितिमा पठाएको थियो । समितिले छलफलका लागि दश सदस्यिय उपसमिति गठन गरी पटक पटक बैठकमा छलफल गरेको थियो ।

उपसमितिले विधेयक माथिका संशोधनकर्ता, मन्त्री र सरोकारवालासँग छलफल गरेको थियो । पुस २३ गते मुल समितिमा गएको प्रतिवेदन २५ गते काँग्रेसका सांसदको विरोधका बाबजुद बहुमतबाट पारित भएको थियो ।