चुक्ता पूँजीको आधारमा इन्भेष्टमेन्ट बन्यो निजी क्षेत्रको सबैभन्दा बलियो बैंक

काठमाण्डौ, २९ पौष । नेपाल इन्भेष्टमेन्ट बैंकको ३२ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले १८ प्रतिशत बोनस शेयर तथा २२ प्रतिशत नगद लाभांस पारित गरेको छ। यस सङ्गै चुक्ता पूँजीको आधारमा निजी क्षेत्रको सबैभन्दा बलियो बैंक बनेको छ । बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड पुगेको छ ।बैंकका अनुसार जगेडा कोषको रकम ९ अर्ब ७७ करोड रुपैयाँ तथा शेयरधनी कोष २४ अर्ब ८७ करोड पुगेको छ ।

बैंकले गत बर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ४० अर्ब र ऋण १ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ। बैंकको खराब कर्जा अनुपात भने १.३६ प्रतिशत छ।

बैंकले ग्रामिण क्षेत्रका ग्राहक सेवालाई ध्यानमा राखी प्रदेश अनुसार वित्तिय संजाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने लक्ष्यलाई निरन्तरता दिँदै समयानुकुल प्रविधिको प्रयोगमा थप जोड दिई ग्राहक सेवामा सहजता ल्याउने तथा राष्ट्रको समग्र विकासमा अग्रसर हुने भावी योजना बनाएको छ ।

यसवर्षदेखि बैंकले आफ्ना कार्ड संजालमा मास्टरकार्डको सेवा संचालनमा ल्याएको छ । मास्टरकार्डबाट एटिएम र पस मेसिन दुबैको सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।