कालिन्चोकमा आन्तरिक पर्यटकको अत्याधिक चाप, होटल, लज पाउनै मुश्किल

दोलखा । जिल्लामा एकैसाथ आन्तरिक पर्यटकको चाप अत्याधिक बढेपछि होटल तथा लज खचाखच भएका छन् । सदरमुकाम चरिकोट तथा धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा पर्यटकको चाप अत्यधिक बढेको हो ।

एकैपटक धेरै आन्तरिक पर्यटक भित्रिएपछि दोलखाका होटल तथा लज खचाखच छन् भने पर्यटकहरुको व्यवस्थापनमा समेत समस्या भएको छ ।

विशेषगरि शुक्रबार, शनिबार र विदाको दिन दोलखामा पर्यटकको चाप बढ्ने गरेको छ । हिजो मात्रै दोलखामा अत्यधिक पर्यटक भित्रिएपछि बस्ने ठाउँ नपाउँदा केही पर्यटक अलपत्र परेका छन् भने केही गाडीमै सुत्न बाध्य भएका छन् ।

कालिन्चोकको कुरीका होटलहरु एक साता अघि देखि बुकिङ थिए भने चरिकोटका होटल, लज पनि भरिए पछि आन्तरिक पर्यटक समस्यामा परेका थिए । अलपत्र परेका पर्यटकलाई व्यक्तिको घर तथा निर्माणाधिन होटलहरुमा समेत राखिएको थियो ।

कालिन्चोकको कुरीमा पुगेका पाँच सय बढी पर्यटक बस्ने ठाउँ नपाएर राति नैं फर्किएको कुरीस्थित होटल फायर साईडका प्रोपाईटर चन्द्र पाख्रिनले बताए ।

पर्यटको संख्या बढेसँगै एक साता यता कालिञ्चोक केवलकार चढ्नेको संख्या दैनिक हजार भन्दा माथि रहेको कालिञ्चोक केवुलकार दर्शन प्रालिका प्रमुख कार्यकारी अधिकृत अशोक शिवाकोटीले जानकारी दिए ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण रहेको दोलखा जिल्ला पर्यटकहरुको विशेष रोजाईमा पर्ने गरेकाले विदाको दिन तथा विशेष चाडपर्व मनाउन पर्यटकहरुको भिड लाग्ने गर्दछ ।

विशेषगरी जाडो मौसममा हिउँ खेल्नका लागि पनि पर्यटकहरु दोलखा आउने गरेका छन् । तर, पर्यटकहरु अग्रिम होटल बुकिङ नगरि आउँदा समस्यामा पर्ने गरेका छन् । पर्यटकको चाप बढेका बेला कुरी र चरिकोटका होटल व्यवसायीले मनोमानी शुल्क लिने, गुणस्तरहिन खाना खुवाउने र भनेजस्तो सेवा नदिएको गुनासो पर्यटकहरुको छ ।